दल

देउवा भन्छन्, ‘माधवजीलाई त्यत्तिकै छोडेर धोखाधडी गर्न सकिन्नँ’

पुष्पराज आचार्य |
माघ २५, २०७८ मंगलबार ८:५७ बजे

काठमाडौँ– सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने कि एमालेसँग नीतिगत सहकार्य गरी सबै निर्वाचन गराउने र अमेरिकासँगको एमसीसी सम्झौता पनि अघि बढाउने भन्ने विषयलाई लिएर सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसभित्र तीव्र ध्रुवीकरण भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनप्रति धेरै प्रतिवद्ध देखिदैंनन् । अघिल्लोपटक २०७४ को आम निर्वाचनमा पनि सत्ता साझेदार माओवादी केन्द्रले देउवालाई धोका दिएकाले माओवादी केन्द्रसँगको सम्बन्धलाई लिएर उनी गम्भीर छैनन् । ‘तर माधवजीलाई संरक्षण गर्नुपर्छ भन्नेमा शेरबहादुर दाई दृढ हुनुहुन्छ,’ नेपाली कांग्रेसका एक नेताले देउवालाई उद्धृत गर्दै भने, ‘माधवजीलाई त्यत्तिकै छोडेर धोखाधडी गर्न सकिन्नँ ।’ 


यद्यपि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकै नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने गठबन्धनप्रति देउवा प्रतिवद्ध नभए एमालेसँग सहकार्य हुनसक्ने संकेत गरेका छन् । तर देउवाले भने ‘माधवजीसँग घोषित नभए पनि निर्वाचनमा अघोषित सहकार्य गरेर जाने’ भनेका छन् । 

‘गठबन्धन भनेर अब चुनावमा घोषित गठबन्धन हुँदैन,’ ती नेताले भने, ‘शेरबहादुर दाईले पनि राष्ट्रियसभा निर्वाचनसम्म मिलेर जाने भन्नुभएको हो । त्यसपछिका चुनावमा घोषित सहकार्य गर्ने भनेर सहमति छैन ।’ 

मओवादीले आफ्नो राजनीतिक स्वार्थका लागि च्याँखे दाउ थापिरहेको र विश्वासिलो पनि नभएकाले एमालेसँग नीतिगत सहकार्य गरेर समयमा सबै निर्वाचन गराउनुपर्ने मत कांग्रेसमा बलियो हुन थालेको छ । देउवाले अमेरिकासँगको एमसीसी सम्झौता अनुमोदन गराउन एमालेसँग सहकार्य गर्ने भए पहिला माधव नेपाल समूहका १४ सांसदलाई वैधानिकता दिन नमिल्ने र सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने माग ओलीले गर्दै आएका छन् । 

ओलीले प्रष्ट कुरा नगरेकाले देउवामा ओली र दाहाल फेरि पनि तालमेल गर्ने हुन् कि भन्ने भय छ । ओली र दाहालबीच पनि दूतमार्फत् गोप्य वार्ता भइरहेको एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले केही दिन अघि सार्वजनिक गरेका थिए । 

माधव नेपाललाई कांग्रेसले साथ दिने कुरामा ओलीको असन्तुष्टी रहेकाले पनि ओली र देउवाबीचको नीतिगत सहकार्यमा अवरोध भइरहेको बुझिएको छ । ओलीले आइतबार बालुवाटारमा भएको बैठकमा ‘माधव नेपाललाई नबोलाउने शर्तमा मात्र आउने’ बताएका थिए । 

त्यसो त माओवादी केन्द्र र एकीकृत समाजवादीबीच घोषित सबैखाले सहकार्य रहेको स्थितिमा नेपाललाई छाडेर दाहाल लुसुक्क ओलीतिर नमिल्लान् भन्ने तर्क पनि बलियो छ तर बालुवाटार स्रोत भन्छ, ‘दाहालको भर छैन । उनी आफ्नो राजनीतिक फाइदाका लागि जेसुकै पनि गर्न सक्छन् ।’ 

गठबन्धनका साझेदारहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचन घोषणा भएकाले अब एमसीसी संसदमा टेबुल गर्ने विषय निर्वाचन अघिका लागि बन्द भैसकेको भनेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एमालेका शर्त मञ्जुर गरी संसद खोल्ने वातावरण बनाए एमसीसीका सम्बन्धमा संसदमै निर्णय लिने बताएका छन् । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x