दल

नेकपा एसले एमसीसी टेबल गर्न दिने तर विपक्षमा मतदान गर्ने

सन्दिप कुमार बैश्य |
फागुन ७, २०७८ शनिबार १८:१ बजे

काठमाडाैँ - अमेरिकी अनुदान सहयोग सम्झाैता (एमसीसी)लाई संसदमा जबर्जस्ती टेबल गरिए सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मतदान गर्ने निष्कर्ष निकालेको छ । सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबार र माओवादी केन्द्रले बुधबार एमसीसीबारे निर्णय गरेपछि एकीकृत समाजवादी दबाबमा परेको छ । दबाबमा परेपछि एकीकृत समाजवादीले बुधबार बसेकाे सचिवालय बैठक र शनिबार बसेकाे स्थायी कमिटी बैठकमार्फत गरेको छलफलमा  गठबन्धनमा सहमति नभई जबर्जस्ती एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने निष्कर्ष निकोलेको हो । 

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आइतबार बस्‍ने भनिएको प्रतिनिधिसभा बैठकमा कुनै पनि हालतमा एमसीसी टेबल नहुने बताए । नेकपा एकीकृत समाजवादीले आफ्नाे निर्णय भाेलिकाे गठबन्धन बैठकमा राख्‍नेछ । आजकाे बैठकले माेटामाेटी टेबलसम्म गर्न दिनेमा नेकपा एकीकृत समाजवादी  पुगेकाे बुझिएकाे छ । 


गएकाे शुक्रबार नै एमसीसी संसदमा टेबल गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीले एक दिन समय मागेपछि राेकिएका थिए । भाेलि गठबन्धनकाे बैठक १० बजे प्रधानमन्त्री निवासमा बस्दैछ । 

’विशेषगरी एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेताहरूको दबाब बढेपछि शनिबार स्थायी कमिटी बैठकमा वृहत छलफल भएकाे हाे । बैठकले एमसीसी, गठबन्धन र आगामी चुनावबारे समेत छलफल भएकाे प्रवक्ता खतिवडाले बताए । 

अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे छलफल गरेर उचित निर्णय लिन अझै समय रहेको ब्रिफिङ स्थायी कमिटी बैठकमा गरेको उनले बताए । उनले भने, ‘फागुन १६ गते आउन अझै बाँकी छ । यस्तो समस्याबारे पार्टीभित्र पर्याप्त छलफल गरेर उपयुक्त निर्णय लिनुपर्छ।’ उनले एमसीसीकै कारण गठबन्धन भत्कन नदिन एकीकृत समाजवादीले सम्वादको पहल गर्ने बताए ।

उनले यथास्थितिमा कुनै पनि हालतमा एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान नगर्ने प्रष्ट पारे । कांग्रेस र माओवादी केन्द्रले एमसीसी सम्झौतामा रहेका बुँदाहरु गहन रुपमा अध्ययन नगरी हतारमा निर्णय गरेको एकीकृत समाजवादीकाे भनाइ छ ।

कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने र अनुमोदन गराउने निर्णय गरेको छ भने माओवादी केन्द्रले संसदीय दलकै बैठकबाट विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  यथास्थितीमा एमसीसी अनुमोदन गर्नुहुन्न भन्नेमा एकीकृत समाजवादी अन्तिमसम्म उभिने प्रवक्ता खतिवडाको भनाइ छ ।

यदि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा एमसीसी जबर्जस्ती टेबल गर्न लगाए एकीकृत समाजवादी विपक्षमा मतदान गर्न तयार हुने उनले बताए । उनले भने,  ‘प्रधानमन्त्री गठबन्धनबाट भए पनि पास गरौं भन्नेमा हुनुहुन्छ । तर हामी र माओवादी केन्द्र तयार छैनौं।’

जसरी पनि एमसीसी अनुमोदन गराउने अडानमा प्रधानमन्त्री देउवा रहिरहे भने गठबन्धनबाट बाहिरिन समेत तयार हुनुपर्नेमा एकीकृत समाजवादीका नेताहरू सहमत छन् । जनता समाजवादी पार्टीले पनि अहिलेसम्म एमसीसीबारे कुनै ठाेस निर्णय गरेको छैन। 

बिहीबार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न आफू लागिपरेको बताएका थिए। यस अघि पनि उनले एमसीसीको पक्ष वा विपक्ष जेमा भोट हाले पनि संसदमा छलफल हुन एमसीसी टेबल हुनुपर्ने मत राख्दै आएका छन्।

सभामुख अग्नि सापकोटाले एमसीसी संसदमा टेबल गर्छन् वा गर्दैनन् अझै प्रष्ट छैन। कुनै पनि विषय छलफल लागि संसदमा लैजाने निर्णय सभामुखले गर्छन्। नेकपाको सरकार भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गराएको एमसीसीको प्रस्ताव छलफलमा लैजान सापकोटाले अस्वीकार गरेका थिए।


 

 


Author

सन्दिप कुमार बैश्य

बैश्य इकागजका संवाददाता हुन् ।


थप समाचार
x