दल

एमसीसीमा अझै विभाजित र अन्योलमा जसपा

सन्दिप कुमार बैश्य |
फागुन ८, २०७८ आइतबार ११:५९ बजे

काठमाडौँ– सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे कतै खुलेका छैनन् । तर उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा उभिएका छन् । यद्यपि सत्ता गठबन्धन दल संसद्‌मा एमसीसी टेबुल गर्न सहमत भएका छन् ।

गठबन्धनको चौथो ठूलो घटक जनता समाजवादी पार्टीमा एमसीसीबारे एक मत छैन । संघीय अध्यक्ष भट्टराईले एमसीसी पारित गर्नुपर्ने पक्षमा धारणा राख्दै आएका छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरू एमसीसीबारे राष्ट्रिय सहमति हुनुपर्ने धारणा राख्छन् ।


जसपाका प्रमुख सचेतक प्रमोद साहले एमसीसीबारे जनतामा राम्रो सन्देश नगएको बताए । उनले भने, ‘एमसीसी राम्रो होला, तर यसबारे सर्वसाधारणमा राम्रो सन्देश गएको छैन ।’ एमसीसीसँगै नागरिकता विधेयक, संघीय निजामती कर्मचारी विधेयकलगायत महत्वपूर्ण विधेयक पनि टेबल हुनुपर्ने पार्टीको अडान रहेको बताए ।

यता भट्टराईले निरन्तर एमसीसी कार्यान्वयन हुनुपर्ने पक्षमा अभिव्यक्ति दिइरहेका छन् । उनले एमसीसीमा समर्थन नगर्ने दलहरू सरकारमा सँगै रहने नैतिकता पनि नहुने सामाजिक सञ्जालमा लेखेका छन् । भट्टराईको भनाइ निजी भएको र पार्टीले एमसीसीबारे आधिकारिक निर्णय नलिएको प्रमुख सचेतक साह बताउँछन् । नेताहरूले यो पार्टीभित्र अन्य विषयमा पनि भट्टराई र यादव पक्षका नेताहरूबीच विवाद रहेको बताएका छन् ।

प्रमुख सचेतक साहले एमसीसीको विषयमा पार्र्टीको आधिकारिक धारणा बैठक बसेर सार्वजनिक हुने बताए । उनले भने, ‘हामी बैठक राखेर एमसीसीको विषयमा टुंगो लगाउँछौँ ।’

एमसीसीमा यादव नखुलेपछि पार्टीमा उनी पक्षका नेता अलमलमा छन् । एमसीसीमा यादवको धारणा के हो भन्ने उनीनिकट नेतालाई पनि थाहा छैन ।

यादवनिकट सांसदसमेत एमसीसीको पक्षमा उभिएको स्रोतको भनाइ छ । जसपाबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी पनि एमसिसीको पक्षमा उभिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी पारित गर्ने पक्षमा निर्णय गरेसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि एमसीसी टेबल गर्नेसम्मको प्रक्रियामा सहमत भएको छ ।


Author

सन्दिप कुमार बैश्य

बैश्य इकागजका संवाददाता हुन् ।


थप समाचार
x