दल

देउवाका ‘शंका’ र ओलीका ‘शर्त’ले अझै जुटेन सहमति

इकागज |
फागुन ११, २०७८ बुधबार १५:२२ बजे

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरूलाई संसदमा सरकारको विपक्षमा मतदान गर्ने भए सरकार छोड्नुपर्ने भन्दै दबाब बढाएका छन् । सत्ता साझदार माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले सरकारले संसदमा पेस भएको अमेरिकी अनुदान सहायता सम्झौता (एमसीसी सम्झौता)को विपक्षमा मतदान गर्ने र सरकार पनि नछाड्ने भनेपछि देउवा अप्ठेरोमा परेका हुन् । 

जानकारहरूका अनुसार पहिले सम्झौता संसदमा पेस हुनै नदिने अडानमा रहेका सहयात्री दललाई देउवाले ‘पेस त गरौं, त्यसपछि संसदीय प्रक्रियामा तपाईंहरू आ–आफ्नो दलको निर्णय अनुसार गर्नुहोला’ भनेर मनाएका थिए । देउवाले पूर्ववर्ती सरकारले दर्ता गराएको सम्झौता गठबन्धनलाई मनाएर संसदमा पेससम्म गर्न पाए अनुमोदनमा एमालेले सघाइहाल्छ भनेर गठबन्धन दलहरूलाई सरकार पक्षको एकमत हुनुपर्छ भन्नेमा आफू नभएको भनेर आश्वस्त पारेको माओवादी केन्द्रका नेता देव गुरुङले बताएका छन् । 


‘प्रधानमन्त्रीले नै सत्ता गठबन्धनको एकमत हुनुपर्छ भन्ने छैन, तपाईंहरू आ–आफ्नो दलको निर्णय अनुसार गर्नुहोला, पेस चाहिं गरौं भन्नुभएको हो,’ गुरुङले भने, ‘यो नयाँ अभ्यास हो । हामीले एमसीसी अनुमोदन गर्छौं भनेर यो गठबन्धन बनाएको होइन । गठबन्धन अहिलेको राजनीतिक आवश्यकता हो, एमसीसीको मुद्दा छुट्टै हो ।’ 

संसदमा पेस गरे अनुमोदनमा एमालेको साथ पाउने आशा गरेका देउवालाई एमालेले त्यति सहजै सहयोग नगर्ने बताइसकेको छ । एमालेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका १४ जना ‘गैर–सांसदलाई संसदमा प्रवेश दिन नहुने’ माग गर्दै आएको छ । उसले मंगलबार बालुवाटारमा भएको भेटवार्तामा पनि १४ सांसद हटाउनुपर्ने र गठबन्धन भत्काउनुपर्ने विषयलाई एमालेले बटमलाइन बनायो । ‘हामीलाई संसदका कामकारबाहीमा सहभागी हुने वातावरण त पहिले बनाउनुपर्‍यो भनेका छौं, प्रधानमन्त्रीलाई अझै पनि यही गठबन्धनबाटै समाधान निस्किहाल्छ कि भन्ने कतैकतै आशा रहेको जस्तो बुझ्यौं,’ छलफलमा सहभागी एक नेताले भने । 

एमाले र कांग्रेसको छलफलमा ‘अण्डा पहिले कि चल्ला’ भन्नेमा कुरा नमिलेर सहमतितर्फ जान नसकेको बुझिएको हो । देउवाले सत्ता साझेदार सम्झौताको विपक्षमा जानेबित्तिकै गठबन्धन भत्किने र उनीहरूलाई सरकारको प्रस्तावको विरुद्धमा मतदान गरेर सरकारमा बसिरहन नैतिक रूपले पनि अप्ठेरो हुने भएकाले एमालेसँग सहयात्राको आधार त्यहींबाट शुरु हुने भनिरहेका छन् । एमसीसी सम्झौता कांग्रेस र एमाले मिलेर अनुमोदन गर्ने र त्यससँगै एमाले र कांग्रेसबीच सहकार्यको आधार तयार हुन्छ भनेर प्रमुख प्रतिपक्षीलाई मनाउन खोजिरहेका छन् । 

तर प्रमुख प्रतिपक्षीले सबैभन्दा पहिले संसदको कामकारबाहीमा सहभागी हुने वातावरण बनाउन देउवालाई आग्रह गरेका छन् र उल्लेखित माग पूरा नभई उक्त वातावरण तयार नहुने स्पष्ट भनेको छ । 

एमालेसँगको संवाद र भेटघाटलाई देखाएर देउवाले माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि दबाब बढाउन खोजेको एमालेको बुझाई छ । 

एमाले र कांग्रेसबीच सहकार्य बन्न देउवाको शंका र ओलीको शर्तले नदिएकाे बुझिएकाे छ । देउवा गठबन्धन भन्काएको खण्डमा ओलीले उनीहरूलाई आफूतिर मिलाउने हुन् कि भन्ने शंका गर्छन् । त्यसाे त माओवादी र नेकपा एकीकृत समाजवादीले अप्ठेराेमा पारे ओलीसँग आत्मसमर्पण गर्छाै‌ं भनेर पनि देउवालाई धम्क्याइरहेका छन् । ओलीले भने एमालेका उल्लेखित शर्त पूरा नगरी देउवाले सहयोग खोजेर मात्र सहयोग गर्न नसकिने बताउँदै आएका छन् । उनले एमालेले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कुनै सहकार्य नहुने भन्दै ढुक्क भएर गठबन्धन तोड्न देउवालाई आग्रह पनि गरेका छन् । झट्ट हेर्दा, एमाले र कांग्रेस सहमतिको नजिक देखिएपनि कांग्रेसले एमसीसी सम्झौता अनुमोदनमा एमालेको सहयोग लिएपछि मात्र प्रतिवद्धता अनुसार सहकार्य गर्ने भनेको छ भने एमालेले भने देउवाले सत्ता साझेदारलाई गलाउन आफूहरूलाई ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ ढंगले उपयोग गर्न खोजेका हुन् कि भनेर निशर्त आउन चाहिरहेको छैन । निशर्त एमसीसी सम्झौता अनुमोदनपछि सहकार्य कि शर्त पूरा गरेर एमालेसँग सहकार्य भन्ने विषय अहिले ‘अण्डा कि चल्ला पहिला’जस्तो भएको छ । 

यद्यपि, कांग्रेस र एमाले दुवैले सहमति निकाल्न संवाद जारी राख्‍ने सहमति गरेका छन् । 


Author

थप समाचार
x