दल

फर्केर हेर्दा २०७८ : वैकल्पिक राजनीति अवसान भएकै हो ?

सुरेन्द्र बजगाईं |
बैशाख १, २०७९ बिहीबार २०:१४ बजे

काठमाडौँ – गत महिना भारतमा केजरीवालको आम आद्मी पार्टीले दिल्लीपछि पञ्जाबमा पनि आफ्नो प्रभाव जमायो । योसँगै भारतको पहिलो दल काँग्रेस आईकै हैसियतमा आम आद्मीको पनि दुई राज्यमा सरकार बनेको छ । 

यही वर्ष नेपालमा भने उदाउँदै गरेको वैकल्पिक राजनीति सुस्ताउँदै छ । यसको उदाहरण अघिल्लो स्थानीय चुनावमा किशोर थापा र रञ्जु दर्शनाले काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारी दिँदा राष्ट्रिय स्तरमा नै चर्चा भएको थियो । तर यसपटक चुनाव आउन एक महिना पनि समय बाँकी नहुँदा वैकल्पिक राजनीतिक दलको कुनै चर्चा छैन । 


नेपालमा झन्डै एक दशक पहिले वैकल्पिक राजनीतिको चर्चा सुरु भएको थियो । अकुपाई बालुवाटार अभियानबाट सुरु भएको उक्त यात्रा विवेकशील नेपाली दल बन्यो । यो बीचमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा ‘नयाँ शक्ति’ दर्ता गरे भने लामो समयसम्म बीबीसी नेपाली सेवाको नेतृत्व गरेका रवीन्द्र मिश्रले साझा पार्टी दर्ता गरे । 

बाबुराम भट्टराई वैकल्पिक राजनीति छोडेर विभिन्न पार्टीसँग एकता गर्दै मूलधारको राजनीतिमा नै फर्किइसके । अहिले भने वैकल्पिक राजनीतिको मैदानमा विवेकशील साझा, र नेपाल विवेकशील पार्टी रहेका छन् । विवेशील साझा अध्यक्ष रवीन्द्र मिश्रको मार्ग परिवर्तनपछि छिन्नभिन्न छ भने वैकल्पिक राजनीतिमा आशा गरेका नागरिक निराश छन् ।

कस्तो रह्यो गत वर्ष
रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र मिलन पाण्डेले नेतृत्व गरेको विवेकशील नेपाली दल पुन एकीकरण २०७७ मङ्सिर २४ गते भयो । विवेकशील नेपाली दलबाट एकीकरणमा सहभागी नहुने समूहले भने नेपाल विवेकशील दल दर्ता गरेर अगाडि बढे । 

एकताकोे ६ महिनामा गर्ने भनिए पनि एकता महाधिवेशन हुन सकेन । बरु यही बेला मिश्रले साउनमा ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज ल्याए । पार्टीमा छलफल नै नगरी आएको उक्त दस्तावेजले त्यसले पार्टी भित्र र बाहिर निकै चर्चा भयो र सेलायो पनि । 

तर यही दस्तावेजको पक्ष र विपक्षमा पार्टी वैचारिक रुपमा तल्लो तहसम्म विभाजित भयो। मिश्र पक्षले गणतन्त्रलाई आरोपित गर्दै परोक्ष रुपमा राजतन्त्रको वकालत गर्दै सघीयता खारेजी र धर्ममा जनमतसग्रहको बाटो लिएपछि पार्टीका अर्का सयोजक मिलन पाण्डे यसको विपक्षमा उभिए। वर्तमान सविधानलाई सरापेर पछाडी फर्किन नसकिने र यही व्यवस्थामा सुधार गरेर अघि बढ्ने पार्टीको लाइनमै अगाडि बढ्ने संयोजक मिलन पाण्डेसँग नेताहरु केशव दाहाल, रञ्जु दर्शना,  रमेश पौड्याल, पुकार बम, महेश भण्डारी, हरीश भट्ट लगायतको साथ त पाए तर मिश्रपक्षको कारवाहीमा परे । 

पाण्डे मिश्रविरुद्ध निर्वाचन आयोग र अदालत धाइरहँदा आफू बहुमतमा रहेको दावी गर्ने मिश्र भने अल्पमतमा परिसकेका थिए । उनीविरुद्ध उनकै समूहका बहुमत सदस्यले आयोगमा निवेदन दिएका छन् भने पाण्डे समूह पार्टीविहीन अवस्थामा छ । 

‘विचार नै नभएको पार्टी’ भनेर आलोचना खेपेको उक्त पार्टीको दस्ताबेज आउँदासम्म सकारात्मक प्रतिक्रिया दिने मानिस नहुने कुरै भएन । तर त्यसमा उठाइएका केही बुँदाले भने एक किसिमको विवाद नै सिर्जना ग¥यो । 

पार्टीबाहिरका शुभेच्छुक दुई कित्तामा मात्रै बाँडिएनन्, पार्टीभित्र झनै ठूलो भूकम्प ल्यायो । यता मिलन पाण्डे पक्षले ‘वैकल्पिक राजनीतिको मूलबाटो’ नामको अर्को दस्ताबेज ल्यायो । 

ती दुई दस्ताबेजमा पार्टीमा आन्तरिक छलफल हुनुपर्नेमा झनै विवाद आयो । त्यही विवादकै कारण संयोजक मिश्रले अर्का संयोजक पाण्डेलाई कारबाही गरे । र २६ जनालाई कारबाही गरेका छन् । अहिले पनि ३ जनालाई फेरि कारबाही गरेका छन् । 

साझा पार्टी स्थापना भएदेखि नै पार्टीको खम्बा भनिएका नेताहरू नै धमाधम पार्टी छोड्ने क्रम रहेको छ । यो वर्ष मात्रै दिवेश गिरी, महेश भण्डारी, अनिमेष कुमार मिश्र, डा. राजेन्द्र पङ्गेनी लगायतका नेताले पार्टी छोडेर स्वतन्त्र भएको घोषणा गरेका छन् । 

‘२०७८ सालमा विवेकशील साझा पार्टीमा निकै उतार चढाव भए । यो विवेकशील साझा पार्टीमा दुई वटा दस्तावेज आए । त्यो दस्तावेज आए पछि पार्टीको विचार कस्तो हुने भनेर एक किसिमको छलफलको वातावरण सिर्जना भएको साझा युवा सङ्गठनका महासचिव सरोज गौतम बताउँछन् । 

राप्रपासँग एकीकरणको प्रयास
‘वैकल्पिक राजनीति’ मा होमिएका मिश्रले आफूसँग विचार मिल्ने दलहरूसँग एकताको लागि वार्ता अगाडि बढाए । त्यो एकताको वार्ता राजेन्द्र लिङदेन अध्यक्ष भएको राप्रपासँग पनि भयो । मिश्रले राप्रपासँग एकीकरण गर्ने तरखर गरे पछि पार्टीमा ठूलै हलचल ल्यायो ।

उनको यो कदमले पार्टीका केही मानिस खुसी भए पनि अधिकाशंले विरोध नै गरे । केहीले त मिश्रले विवेकशील नेपाली दललाई राप्रपाको भातृ सङ्गठन नै बनाउन लागेको आरोपसमेत लगाए ।

‘विवेकशील साझा पार्टीको नेतृत्व गर्छ भनेर नेतृत्व सुम्पेको मान्छेले नै वैकल्पिक राजनीतिलाई धोका दिए’ हाल पाण्डे समूहमा रहेका पार्टी प्रवक्ता हरीशप्रसाद भट्ट भन्छन्, ‘मिश्रले विवेकशील साझा पार्टीलाई राप्रपाको भातृ संगठनजस्तै बनाउन खोजे । हामीले वैचारिक विद्रोह गर्‍यौं ।’

संयोजक मिलन पाण्डे भने राप्रपासँग पार्टी एकीकरण गर्न खोजेर मिश्रले वैकल्पिक राजनीति नै छोडेको आरोप लगाउँछन् । ‘वैकल्पिक राजनीतिको अध्यक्ष नै वैकल्पिक राजनीति सिध्याउने खेलमा लागे । त्यही भएर नै हामीले नयाँ दस्ताबेज ल्याउनुपर्‍यो ।’

वैकल्पिक राजनीति परिपक्व हुँदै 
२०७८ सालमा विवेकशील नेपाली दलबाट एकपक्ष पार्टी एकीकरणमा सहभागी नहुनु, एक वर्षमा पटक–पटक विवाद आउनु र फरक–फरक दस्ताबेज आउनु बाहिरबाट हेर्दा त्यति राम्रो नदेखिए पनि वैकल्पिक राजनीति परिपक्व हुँदै गएको नेपाल विवेकशील दलकी अध्यक्ष कर्मा तामाङ बताउँछिन् । 

२०७८ मा मात्रै नभएर विगत ४ वर्ष गुमाएको बताउँछिन् । तर यो समय ठूलो सिकाई भएको उनको बुझाइ छ । ‘अहिले मानिस बिरामी भएर उपचारपछि फर्किएको जस्तो भएको छ’ उनी भन्छिन्, ‘गत वर्ष ठूला भनिएका दल पनि टुटफुटको शिकार भए । चुनावको लागि मात्रै भएको एकता त्यति ठीक रहेनछ ।’

वैकल्पिक राजनीति शुद्ध हुन्छ भन्ने मानिसको विचार थियो । तर राजनीति त्यति सजिलो रहेनछ । राजनीतिक नेतृत्व पनि यही समाजको उपज भएकाले सोचे जसरी अगाडी बढ्न नसकिएको उनको बुझाइ छ । 

‘हामीप्रति आशा राख्नेहरू नै अहिले निराश भएका हुन् । यो हुनु नै थियो । नेतृत्व कतिको दूरदर्शी छ । एजेन्डामा बसेर कति काम गर्न सक्ने रहेछ भन्ने पनि हो ’ तामाङ भन्छिन्, ‘वैकल्पिक राजनीतिले काम गर्ने शैली फरक थियो । अहिले पनि छ । तर यो एक वर्ष हैन, चार वर्ष खेर नगएको भए एकदमै राम्रो काम गर्न सक्थ्यौ ।’

यता मिलन पाण्डे पनि यो वर्ष वैकल्पिक राजनीतिको लागि फलदायी भएको बताउँछन् । आफूहरुले वैकल्पिक राजनीतिको सिद्धान्त र विचारमा स्पष्टता ल्याएको उनी दाबी गर्छन् ।

‘आशाअनुसार काम नभएको पक्कै हो, अहिले बाहिरबाट हेर्दा त्यो आशा म¥यो कि जस्तो भए पनि त्यो मरेको छैन,’ उनी भन्छन्, ‘यसले झन् धेरै परिपक्व भएको जस्ता लाग्छ ।’

यता विवेकशील साझा पार्टीको सङ्गठन विभाग प्रमुख निर्देशक सिलवाल पनि यो वर्ष वैकल्पिक राजनीति विचलित भएको स्वीकार्छन् । ‘आशा देखाएकाहरूको अक्षमताको कारण पार्टी विचलित भएको हो’ उनी भन्छन्, ‘तर सम्हालेर लैजानै नसक्ने गरी विचलित चाहिँ भएको हैन । ढङ्ग पु¥याएर नेतृत्व गर्ने हो भने फेरि सम्हालेर लैजान सकिन्छ ।’

पहिले काठमाडौँमा मात्रै सीमित भएको पार्टी अहिले विकेन्द्रीकरण भएको उनको दाबी छ । यसैका कारण पार्टी फैलँदो क्रममा रहेको फुट नेतृत्वको व्यवस्थापकीय कमजोरीका कारण भएको उनको भनाइ छ ।

‘वैकल्पिक राजनीतिमा साझा नेतृत्व दिन सक्ने क्षमताको कमी भएको छ’ उनी भन्छन्, ‘समूहलाई एजेन्डा, सपना, भावना, उद्देश्य र एउटै खालको मर्मले जोड्ने हो । तर कसैले वैकल्पिक राजनीतिलाई युवाको राजनीति भनेर हेरेको छ भने कसैले प्रवाहको राजनीतिलाई हेरेको छ ।’

एउटै खाले नेतृत्व नभएर खण्डित भएको भएको छ । कुनै दिन यी विचारहरू एकै ठाउँमा आउँदा वैकल्पिक राजनीति सफल हुने सिलवाल बताउछन् । 

‘टुटफुट नियमित प्रक्रिया’
एकदमै सुस्ताएको चाहिँ भन्न नमिल्ने विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक बताउँछन् ।  ‘पार्टी निर्माणको चरमा यस्तो टुटफुटको घटना हुन्छ । यस्तै घटनाहरूले पार्टीलाई थाप बलियो बनाउँछ । झनै प्रस्ट बनाउँदै जान्छ’ पाठक भन्छन्, ‘कतिपयलाई पार्टीमा यस्ता उतारचढावको घटना नभइदिए हुन्थ्यो भन्ने लाग्छ । यो हामी प्रतिको सुभेच्छा हो । अहिले नै पार्टी वा वैकल्पिक राजनीति नै सकियो भन्ने अवस्था छैन ।’

‘विचारभन्दा माथि देश’ दस्तावेजले पार्टीमा समग्र राजनीतिमा निकै ठूलो बहस सिर्जना ग¥यो । पार्टी भित्र पनि ध्रुवीकरण ल्यायो ।  ‘हामीले पार्टी हित विपरीत काम गर्नेलाई पार्टीबाट निष्कासन गरेका हौ’ उनी भन्छन्, ‘आफू अनुकूल हुँदा चाहिँ विधानको जगमा हिँड्नुपर्छ भन्ने अनि आफूले सोचेअनुसारको निर्णय पार्टीमा हुँदैनन् त्यति बेला चाहिँ हामीलाई यो स्वीकार छैन भनेर बबन्डर गर्नेहरूलाई निष्कासन गरेका हौ,’ उनी भन्छन् ।

पार्टीलाई विधि, पद्धतिको आधारमा अगाडि बढाउँदा त्यो कसैलाई अस्वीकार्य हुन्छ भने उनीहरूको समस्या हो । त्यो वैकल्पिक राजनीतिको समस्या नभएको पाठक बताउछन् । 

वैकल्पिक राजनीति सम्भव नै छैन 
त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभागका प्रमुख प्रा. डा. रामकृष्ण तिवारीका अनुसार विगतका केही वर्षदेखि वैकल्पिक राजनीतिलाई अगाडि बढाउन सकिन्छ कि भनेर मानिसहरू आएका हुन् । तर उनीहरू विभिन्न पार्टीबाट निस्किएर आएकाले पार्टी बने पनि ठूलो दायरा लिन नसकी टुटफुटको शिकार भएको तिवारीको बुझाइ छ । 

‘वैकल्पिक राजनीति गर्नेहरू नै अहिले भएका ठूला पार्टीमा मिसिन पाइयो भने त्यहाँबाट माथि पुग्न सकिन्थ्यो भन्ने ध्यानले यस्तो भएको हो,’ उनी भन्छन्, ‘अहिलेको वैकल्पिक राजनीति असफल भए अझै केही दशक वैकल्पिक राजनीति सम्भव नै छैन ।’

यसरी नागरिकले आशाले हेरेका युवाहरुलाई समाहित गरेको पार्टी अनावश्यक विवादमा फसेको छ । वैकल्पिक राजनीतिका लागि यो वर्ष उत्साहजनक पक्कै रहेन बरु यो वर्ष पार्टीका नेताहरुकै हर्कतबाट जनताको आशाबाट गिर्न लागेको नयाँ राजनीतिको साख फर्काउन कति वर्ष लाग्ने हो भन्न सकिदैन ।


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x