दल

बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह, भन्छन्— साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने सोचौँ

योग्य साथीले अवसर नपाएकोप्रति जानकार छु

इकागज |
बैशाख १५, २०७९ बिहीबार ११:२० बजे

काठमाडौं - नेपाली कांग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार वक्तव्य जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन उनले उनको आग्रह छ ।

'एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार छु । पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु,' उनले जारी गरेको वक्तव्यमा भनिएको छ, 'आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिई दिनु हुन हार्दिक अपिल गर्दछु ।'


उनले गठबन्धन भएका ठाउँमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवारलाई र नभएका ठाउँमा पार्टीका एकल उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले अहिलेको पाँच दलीय गठबन्धन संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गर्ने गरी बनेको समेत स्मरण गराएका छन् ।


Author

थप समाचार
x