दल

बागी पौडेलको विरोध गर्दै ‘त्यागी’ पौडेल भन्छन्

‘कृष्णचन्द्र मुख्यमन्त्री बन्नु र बलरामले गाडीमा झन्डा हल्लाएर हिँड्न पाउनु गठबन्धनको देन’

इकागज |
बैशाख २२, २०७९ बिहीबार १५:३७ बजे

भरतपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले लाभका पद प्राप्त गर्नुमा गठबन्धन दलहरूको ठूलो हात रहेको भन्दै अहिले कांग्रेसको प्रतिद्वन्द्वीता नेकपा (एमाले)सँग मात्र भएको बताएका छन् । 

भरतपुरमा आयोजित गठबन्धन दलको चुनावी आमसभालाई सम्बोधन गर्दै ‘सादगी’ र ‘त्यागी’को उपमा पाएका वैचारिक नेता पौडेलले चितवनका पुराना कांग्रेस नेताहरू जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठ लगायतले कुरा नबुझेको बताए । पौडेल अहिले भरतपुर महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार छन् । 


वरिष्ठ नेता पौडेलले आफूले भरतपुरका स्वतन्त्र उम्मेदवार र तिनका समर्थकलाई सम्झाउने प्रयास गरेको तर उनीहरू भावावेग र उत्तेजनामा रहेको बताए । उनले भरतपुरको चुनावी सभाको मञ्चबाट स्वतन्त्र उम्मेदवारी दिएका नेता र कार्यकर्तालाई सम्झाउँदै भने, ‘गठबन्धन नभएको भए अहिले कृष्णचन्द्र पौडेल कसरी गण्डकीको मुख्यमन्त्री बन्नुहुन्थ्यो ? यहाँको जिउँदो सहिद भनिने बलराम पौडेलले कसरी मन्त्रीको गाडीमा झन्डा हल्लाएर हिंड्न पाउनुहुन्थ्यो ?’ 

उनले माओवादी नेपाली कांग्रेसको सहयात्री भएकाले गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई निर्वाचित गर्न पनि आग्रह गरे । 
 


Author

थप समाचार
x