दल

एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि आक्रमण गरेको राप्रपाको आरोप

इकागज |
बैशाख २६, २०७९ सोमबार ११:२३ बजे

काठमाडौँ- राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै राप्रपाले निन्दा र भर्त्सना गरेको छ ।

‘स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषा जिल्लाको सबेला नगरपालिका वडा नं– ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि नेकपा एमालेद्वारा भएको सांघातिक हमलाको घोर निन्दा एवं भत्सर्ना गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


मियामाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गर्न र आक्रमण परी घाइते भएकाको उपचार व्यवस्था गर्न राप्रपाले माग गरेको छ । ‘घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 
एमालेले मियालाई उम्मेदवारी फिर्ता लिन दिएको दबाब अस्वीकार गर्दा एमाले कार्यकर्ताले उनको परिवारमाथि भएको आक्रमण घृणित, लज्जाीस्पद र दुःखदायी रहेको राप्रपाले भनेको छ ।

‘राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी र उनको सात जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको घटना घृणित, लज्जास्पद र दुःखदायी छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं–१ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातरे फालिदिने र उमेदवारलाई लछारपछार गरिएको भन्दै राप्रपाले सो घटनाप्रति दुःख प्रकट गर्दै भर्त्सना गरेको छ ।

राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । 


Author

थप समाचार
x