राजनीति

४०औं बीपी स्मृति दिवस

'बीपीजस्तो पार्टीको कार्यभार अन्य सभापतिहरूले बोक्न सकेनन्'

इकागज |
साउन ६, २०७९ शुक्रबार १३:१७ बजे

काठमाडौँ - आज श्रावण ६ गते । ४०औं बीपी स्मृति दिवस । उनको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनार्इंदै छ । बीपीका सहयात्रीहरू अहिले जीवित नरहे पनि बीपीले बनाएको बाटो पछ्याएकाहरू काँग्रेस नेतृवमा छन् । 

नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा बीपीको स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ । राजनैतिक विश्लेषक पुरञ्जन आचार्य सशस्त्र क्रान्तिबाट प्रजातन्त्र पुनर्स्थापना र प्रजातन्त्रकै संरक्षण र सम्वर्द्धनमा बीपीको योगदान अतुलनीय रहेको टिप्पणी गर्छन् । उनले काँग्रेसले पाएको अहिलेसम्मको अविष्मरणीय नेतृत्वको भूमिका बीपीले नै गरेको बताए। 


‘नेपालमा जहाँनिया राणा शासन अन्त्यको आह्वान भयो । त्यहाँ मातृकाप्रसाद कोईराला २००७ सालको क्रान्तिको कमाण्डर नियुक्त हुनुभयो,' उनले भने, 'मातृकाप्रसाद कोईरालाको पालामा २००७ सालको क्रान्ति भयो । आधिकारिक लिडरसिप मातृका काईराला भए पनि राजनीतिक नेतृत्व बीपी कोईरालाको नै थियो ।’

वरिष्ठ पत्रकार किशोर नेपाल बीपीले जस्तो पार्टीको कार्यभार अन्य सभापतिहरूले बोक्न नसकेको टिप्पणी गर्छन् । काँग्रेसलाई अग्रगामी दिशामा लैजान बीपीले अभुतपुर्व योगदान गरेको उनको विश्लेषण छ। उनले नेपालमा आवश्यक सवारी साधनसमेत नभएको बेला बीपीले देशभर घुमेर पार्टीको संगठन विस्तार गरी काँग्रेसलाई पहिलो पार्टी बनाउन गरेको योगदानलाई कसैले बिर्सन नसक्ने बताए । 

‘बीपी कोईराला जतिखेर सभापति हुनुभयो त्यो बेलामा नै नेपाली काँग्रेस अग्रगामी बन्यो । यसका धेरै दस्तावेजहरू पनि बने । बीपीका चिन्तनहरू भएका धेरै कुराहरू बहिर आए,' उाले भने, 'उहाँले पार्टीकौ एउटा सेप तयार गर्नुभयो । आफैँ घुमन्ते भएको हुनाले पनि उहाँले धेरै मान्छेहरूसँग भेट्नुभयो । मोटर सेवा नभएको बेला दाङदेखि मोरङसम्म हिँडेर संगठन बनाउनु भनेको निकै गाह्रो कुरा थियो । त्यो बेलामा संगठन बनाउन जति मिहेनत बीपीले गर्नुभयो त्यति चाहिँ अरु सभापतिहरूले भार बोक्नुपरेन ।'

राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले व्यक्तिगत स्वार्थभन्दा धैरै माथि उठेर बीपीले प्रजातन्त्रका लागि ठूलो योगदान दिएको स्मरण गरे । उनले नेपाली काँग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व बीपीकै भएको बताए । संविधानसभाका लागि नयाँ राजालाई दबाब सिर्जना गरी काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बन्नुभएको बताए ।

‘नेपाली काँग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व भनेको उहाँको नै हो । उहाँले १२ सालमा फेरि  सुवर्ण समशेरलाई सभापति बनाउनुभयो । त्यो काँग्रेसको अधिवेशनबाट उहाँले समाजवाद पास गर्नुभयो । सुवर्ण समशेरको नेतृत्वमा चुनाव हुँदा काँग्रेसले ठीक ऊर्जा गर्दैन भनेर उहाँले विशेष अधिवेशन गर्नुभयो,' उनले भने, 'फेरि विशेष अधिवेशनले बीपी कोईरालालाई सभापतिमा निर्वाचित गर्यौं । उहाँले संविधानसभाका लागि नयाँ राजालाई दबाब दिनुभयो । त्यो दबाबले संविधानसभाको चुनाव नभएपनि राष्ट्रिय निर्वाचन भयो । त्यस चुनावमा काँग्रेसले दुई तिहाइ बहुमत पाएपछि बीपी प्रधानमन्त्री हुनुभयो ।’

उनले बीपीले संगठन बनाउन गर्नुपरेको परिश्रम जति अन्य सभापतिले गर्नु नपरेको उल्लेख गरे । नेपाली काँग्रेसका सभापतिहरूले अन्तिममा आए आफूलाई सफल बनाएको इतिहास रहेकोले अहिलेका सभापति शेरबहादुर देउवाले पनि राजनीतिको उत्तरार्द्धमा आफ्नो कार्यकाललाई स्मरण योग्य बनाउनुपर्ने उनले बताए। 


Author

थप समाचार
x