राजनीति

जित सुनिश्‍चितताका लागि माओवादी रोजेँ : वामदेव गौतम

इकागज |
साउन ३१, २०७९ मंगलबार १६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताएका छन् ।

मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्‍ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका सदस्य गौतमले यस्तो बताएका हुन् । उनले चुनाव जित्‍ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्‍नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताए ।


सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने जिकिर गरे । उनले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए । हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गरे । उनले इमान्दारीसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे। उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे ।


निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताएका थिए । राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए ।

मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिन्ह दिने सहमति गरेको थियो । 


Author

थप समाचार
x