राजनीति

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशिला : प्रधानमन्त्री देउवा

इकागज |
असोज ३१, २०७९ सोमबार १४:३२ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनता बीचको सबैभन्दा नजिकको साथीका रूपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन् ।

प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले विभिन्न आरोह अवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको उल्लेखनीय उपलब्धि हरेक नेपालीले गर्व गर्न लायक रहेको बताए । 'नेपाल प्रहरी आजको यस अवस्थामा आइपुग्नुको पछाडि नेतृत्व पङ्क्तिमा रहेका पूर्ववर्ती पदाधिकारीको समर्पण तथा अमर प्रहरीको बलिदानले मुख्य भूमिका खेलेको छ,' उनले भने, 'करिब सात दशक लामो इतिहास बोकेको प्रहरीले आजको अवस्थामा आइपुग्दा आफूलाई एक व्यावसायिक, दक्ष, अनुशासित र कर्तव्यपरायण राष्ट्रसेवकका रूपमा स्थापित गर्न सफल भएको छ ।'


आन्तरिक तथा बाह्य सुरक्षा, सार्वभौम सत्ताको संरक्षण, जनताको सुरक्षालाई मध्यनजर राख्दै सरकारले मुलुकभर शान्ति, सुरक्षा अमनचयन कायम गर्ने र भयरहित वातावरण निर्माण गर्न जोड दिँदै आएको उनले बताए । 'शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशिला हो,' प्रधानमन्त्री देउवाले भने ।

उनले आफ्नो जीउ ज्यानको प्रवाह नगरी तोकिएको जिम्मेवारी पूरा गर्न अहोरात्र खटिने प्रहरीको योगदानको उच्च प्रशंसा गरे ।

प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी महाभूकम्पदेखि विश्वव्यापी महामारी कोरोना सङ्क्रमण, प्राकृतिक प्रकोप, विपद्का कुनै पनि घटनामा नागरिकको उद्धारका लागि प्रहरी, चिकित्साकर्मीले अग्रपङ्क्तिमा रहेर निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

अन्तर्राष्ट्रिय शान्ति सुरक्षाप्रति नेपालको प्रतिबद्धतालाई शिरोधार्य गरी संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा प्रहरीका जवान र अधिृकत परिचालित रहेको जनाउँदै उनले आगामी दिनमा शान्ति मिसनमा नेपाल प्रहरीका कर्मचारीको सहभागिता र प्रतिनिधित्व बढाउन सरकार सकारात्मक रहेको बताए । उनले प्रहरीको सबै सेवालाई प्रविधिमैत्री बनाउन निर्देशन दिए ।

साेही क्रममा नेपाल प्रहरीको सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गरी सक्षम प्रहरी सङ्गठन निर्माणमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले यसका लागि आवश्यक योजना बनाउन गृह मन्त्रालयलाई निर्देशन दिए । 

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको जनाउँदै प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे । 

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा गर्ने राज्यको पहिलो कर्तव्य पालना गर्न नेपाल प्रहरीले स्थापनाकालदेखि भूमिका निर्वाह गर्दै आएको बताए । सीमित स्रोतसाधनका बीच प्रहरीले जनताको सुरक्षा गर्दै आइरहेको जनाउँदै उनले भूकम्प, कोरोना महामारी र प्राकृतिक विपत्तिमा उद्धार तथा राहतमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

त्यस्तै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जनता तथा राष्ट्रको सुरक्षा, विश्वव्यापी महामारी, प्राकृतिक विपत्तिलगायत अवस्थामा खेलेको भूमिकाले प्रहरीको विश्वसनीयता बढेको बताए । गत वैशाखमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको उल्लेख गर्दै उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कटिबद्ध रहेको बताए । 

नेपालमा अपराध गरी विदेशमा लुकेर बसेका व्यक्तिलाई ‘इन्टरपोल’को सहायतामा नियन्त्रणमा लिइएको जनाउँदै उनले अघिल्लो आवको तुलनामा गत आवमा आपराधिक घटनाको दर्ता १७ प्रतिशतले बढे पनि कर्तव्य मुद्दाको सङ्ख्या घटेको उनको भनाइ थियो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्तव्यपालनका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीका एक छात्र/एक छात्रालाई ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति’ प्रदान गरेका थिए । प्रधानमन्त्रीले नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई ‘मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’, 'अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ र अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट हुने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरलाई ‘पुलिस व्याटन’ प्रदान गरे । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी दर्पण २०७९ को लोकार्पण तथा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।


Author

थप समाचार
x