राजनीति

मकवानपुरमा मतगणना सुरु

इकागज |
मंसिर ५, २०७९ सोमबार १२:५८ बजे

मकवानपुर - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को हिजो सम्पन्न मतदानको मतगणना सुरु भएको छ । मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा न ६ झुरझुरेको मतदानस्थलको मतपेटिकाको सिल तोडेर मकवानपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत ऋषिराम निरौलाले मतपेटिका खन्याएर गणना सुरु गरिएको हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो । दुई वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभाको प्रत्येक तर्फ र समानुपातिक समेत गरी १० वटा कोठामा एकै पटक नतिजा आउनेगरी तयारी थालिएको छ । प्रतिनिधीसभाको दुई क्षेत्रको चार वटा कोठामा र चार वटा प्रदेशसभाको अरु चार वटा कोठामा मतगणना गरिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए। यसैगरी प्रदेश तर्फको समानुपातिक र प्रतिनिधि सभा तर्फको समानुपातिकको पनि गणना गरिने छ ।


तारजालीभित्र मतगणना सुरु गरिएको छ । बाहिर भने उम्मेदवारका प्रतिनिधि राखिएको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेका छन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो । मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् ।

तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् । यसवर्षका निर्वाचनमा मतदाता संख्या बढेपनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरु ६ प्रतिशतले घटेका हुन् । आमनिर्वाचन–०७९ मा कुल एक लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसमध्ये मतदान गर्नेमा पुरुष ९२ हजार ८ सय ७७ जना, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना रहेका छन् । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६९ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् ।


Author

थप समाचार
x