राजनीति

चुनावी प्रतिष्पर्धामा अंकुराउन खोज्दै उम्मेदवारहरू

इकागज |
मंसिर ११, २०७९ आइतबार २०:९ बजे

निर्वाचन सकेपछि ढ्वाङहरू थन्क्याउँदै कर्मचारी ।

मकवानपुर- निर्वाचनमा सहभागी भएपछि हार जित अवश्य छ । प्रतिष्पर्धामा आउनेहरूबीच केही सय वा हजारको मतान्तरले हार जित हुन्छ । तर, मकवानपुरमा केही यस्ता उम्मेदवार रहे जो सबैभन्दा कम मत ल्याएका कारण चर्चामा आए । 

गत ४ मंसिरमा भएको आम निर्वाचनमा मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कूल ६ पदमा महिला र पुरुष गरी ६९ जना उम्मेदवार सहभागी भएका थिए । आवश्यक पदको ११ गुणभन्दा बढी उम्मेदवार रहेको मकवानपुरमा २४ जना उम्मेदवारले आफ्नो मतदाता १ सयभन्दा बढाउन सकेनन् । सयभन्दा कम मत ल्याउने उम्मेदवारहरूले इकाजगसँगको कुराकानीमा आफू राजनीतिमा अंकुराउँदै गरेको प्रतिक्रिया दिए । 


निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार प्रतिनिधि सभाको दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि सभा सदस्यका २६ जना उम्मेदवार रहेकोमा ९ जनाले एक सयभन्दा कम मत प्राप्त गरेका छन् । आठ मत मात्र पाउने उम्मेदवारसमेत छन् ।

मकवानपुरका प्रतिनिधि सभा क्षेत्र नं १ मा सय मत नकटाउने चारवटा दल र दुई स्वतन्त्रसहित ६ जना छन् । १६ जना उम्मेदवार रहेको यस क्षेत्रमा दुई स्वतन्त्रसहित १२ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारको एक हजारभन्दा कम मत आएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं १ को क मा दुई स्वतन्त्रसहित तीन जना उम्मेदवारको सयभन्दा कम आएको छ । दुई स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्य उम्मेदवार रहेको यस प्रदेश सभा क्षेत्रमा ७ जना उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै प्रतिनिधि सभा क्षेत्र नं १ को ख मा ६ जना स्वतन्त्रसहित १५ जना प्रदेश सभा सदस्य उम्मेदवार रहेकोमा ५ जना स्वतन्त्रबाहेक सबै उम्मेदवारले सयभन्दा बढी मत ल्याएका छन् ।

चार जना प्रदेश सभा सदस्य उम्मेदवारको मात्र एक हजारभन्दा बढी मत आएको छ । 

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा एक जना स्वतन्त्र उम्मेदवारसहित ३ जनाले सय मत कटाउन सकेका छैनन् । एक जना स्वतन्त्रसहित १० प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेको यस क्षेत्रमा एक हजार मत पनि प्राप्त नगर्ने उम्मेदवारको सङ्ख्या ५ रहेको छ । 

प्रतिनिधि सभा क्षेत्र नं २ को क मा तीन स्वतन्त्रसहित ८ जना प्रदेश सभा सदस्य उम्मेदवार रहेकोमा २ स्वतन्त्र उम्मेदवारको सयभन्दा कम मत आएको छ ।  एक हजारभन्दा कम मत ल्याउनेमा ५ हजार उम्मेदवार रहेका छन् । 

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं २ को ख मा ५ स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्य उम्मेदवार रहेकोमा ५ उम्मेदवारले सयभन्दा कम र ७ उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

दुई प्रतिनिधि सभा सदस्य रहेको मकवानपुरमा एमाले र राप्रपाले एक–एक प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रले दुई, कांग्रेस र एमालेले एक /एक प्रदेश सभा सदस्य जितेको छ ।


Author

थप समाचार
x