राजनीति

कमिसन काण्डमा बोले कांग्रेस नेता : जनस्वास्थ्यमाथिको ठूलो अपराध क्षम्य हुँदैन

इकागज |
बैशाख २३, २०७८ बिहीबार १२:१६ बजे

काठमाडौं : कमिसन नमिलेकै भरमा कोभिडविरुद्धको खोप रोकिएको विषयमा कांग्रेस नेताहरूले आवाज उठाएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध क्षम्य नहुने बताएका छन् ।

उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत टिप्पणी गर्दै प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले भनेका छन्, 'कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायी विजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्‍ने खबरले लज्जित बनाएको छ । महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?'

उनले पहिलो चरणको कोभिड-१९ महामारीमा प्रधानमन्त्री निकट ओम्नी समूहलाई आर्थिक चलखेल गरी स्वास्थ्य सामग्री खरीद गरेको विषय स्मरण गराए । उनले भनेका छन्, 'देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध र बेइमानी क्षम्य हुन सक्दैन । यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।'

कमिसनको खेलमा स्वास्थ्यमा खेलवाड गर्नु सरकारको जनघाती कार्य भएको अर्का नेता नैनसिंह महरले बताएका छन् ।  महरले कोरोना महामारीबाट हजारौँ जनताले ज्यान गुमाईरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन् ।

नागरिक स्वास्थ्य संकटले बिचल्लीमा परेका छन् तर सरकार कमिसनको चक्करमा खोप र औषधिको कृत्रिम अभाव गराएर जनता मार्ने जनघाती काममा लागेको महरको भनाइ थियो ।

संकटमा सहयोगी हातहरु' नामक अभियानले आयोजना गरेको 'कहाँ चुक्यो सरकार' बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दैँ नेता महरले वर्तमान सरकार इतिहासकै भ्रष्टाचार शिरोमणी र विवेकहीन पनि सावित भएको बताएका हुन् ।

यो ३ वर्षे कार्यकालमा भ्रष्टाचार,  आर्थिक अनियमितताका दर्जनौं काण्डहरु घटाइएको बताउदै 'खोप काण्ड, ओम्नी काण्ड, फास्टट्रयाक काण्ड, सेक्युरिटी प्रेस काण्ड, वाइडबडी काण्ड, रेल्वे काण्ड लगायतका दर्जनौँ काण्डमा अर्बौको अनियमितता गरेर वर्तमान सरकार भ्रष्टाचार शिरोमणी र विवेकहीन सावित भयो, नेता महरले आक्रोश पोख्दैँ भने, जनता स्वास्थ्य संकटले विचल्लीमा परेका छन् तर कम्युनिष्ट नामधारी सरकार भ्याक्सिन लगायत स्वास्थ्य सामग्री उपलब्ध नगराएर कमिसन खाने चक्करमा जनता मार्ने जनघाती काममा उद्धत छ ।'



Author

थप समाचार
x