राजनीति

मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न सरकार थाल्यो पहल

बर्दिबासदेखि काठमाडौँ हिँडेका मिटरब्याजीलाई हेटौँडामा कम्बल र बस मिलाउने

इकागज |
चैत १०, २०७९ शुक्रबार १०:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- मिटरब्याजीविरुद्ध आन्दोलनमा रहेका किसानहरूको समस्या समाधान गर्न सरकारले पहल सुरू गरिसकेको छ । महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरूका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

सोही निर्देशन बमोजिम मकवानपुरका सिडिओ राजेन्द्रदेव पाण्डेले किसानहरूसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्धा पनि चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आग्रह गरेका थिए ।


सिडिओ पाण्डेसँगको छलफलमा पीडित किसानहरूले आफूहरू एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताएका थिए । 

किसानहरूले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरूलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न र सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानहरूलाई कम्बलको व्यवस्था गरेका थिए । 

पीडित किसानहरूको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति कानूनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री प्रेस संयोजक शर्माले बताए । सरकारले ३ सय ५० जना मिटर ब्याजीहरूलाई कारबाही नै गरिसकेको प्रेस संयोजक शर्माको भनाई छ ।

‘आज मात्रै पनि प्रधानमन्त्रीले कानून सचिवलाई कानूनलाई प्रस्तावको रुपमा आज अपरान्ह बस्ने मन्त्रिपरिषद् ल्याउन र संसद्‌मा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरूको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ शर्माले भने ।
 


Author

थप समाचार
x