राजनीति

नयाँ सरकार गठन

सभापतिको खबर कुरेर बसिरहेको छु : पौडेल

‘सत्ता समीकरणबारे सभापतिले कुराकानी गरिरहनु भएको छ’

इकागज |
बैशाख २९, २०७८ बुधबार १७:२४ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसले सत्ता समीकरणबारे छलफल गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ । नेता रामचन्द्र पौडेलले पदाधिकारी र शीर्ष नेताहरूको बैठकबाट अन्य दलहरूसँग छलफल गर्ने जिम्मेवारी दिएको र आवश्यक परे आफूहरूलाई खबर गर्न भनेको जानकारी दिए । 

‘सत्ता समीकरणबारे अन्य दलहरूसँग कुराकानी गर्ने जिम्मा पदाधिकारी बैठकबाट सभापतिलाई दिएका छौं । उहाँले कुराकानी गरिरहनु भएको होला,’ पौडेलले इकागजसँग भने, ‘आवश्यक पर्‍यो भने हामी तयार छौं, खबर गर्नुहोला भनेका छौं । खबर आएको छैन । घरमै खबर कुरेर बसिरहेको छु ।’


प्रधानमन्त्री केपी शर्मा ओलीले २७ बैशाखमा प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न असफल भएका थिए । त्यसपछि त्यसै दिन राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकार बनाउन बिहीबार साँझ ९ बजेसम्मको समय दिएकी छन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले नयाँ सरकार गठनको प्रयास गरिरहेका छन् । 

सभापति देउवा निकट नेता रमेश लेखकले आज औपचारिक रूपमा दलीय छलफल नभएको र सभापति देउवाले आन्तरिक कुराकानी भने गरिरहेको जानकारी दिए ।  
 


Author

थप समाचार
x