राजनीति

कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ अनिश्चित

काँग्रेस पर्ख र हेरको अवस्थामा

लक्ष्मी भण्डारी |
बैशाख ३१, २०७८ शुक्रबार १८:२८ बजे

सुर्खेत : कर्णालीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चित देखिएको छ । सरकार पुर्नगठनमा काँग्रेस सहभागी नभएपछि नवनियुक्त मन्त्रीको शपथ अनिश्चित भएको हो । कर्णाली सरकारमा जाने तयारीमा रहेको कांग्रेस यतिबेला पर्ख र हेरको अवस्थामा पुगेको छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिले राष्ट्रिय राजनितीमा नयाँ तरंग उत्पन्न भएपछि कर्णालीमा कांग्रेस पर्ख र हेरको अवस्थामा पुगेको छ । 

गत वैशाख ३ गते विश्वासको मत दिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाइदिएको नेपाली कांग्रेस तत्कालका लागि सरकारमा नजाने भन्दै पन्छिन थालेपछि नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रमको टुंगो लागेको छैन । 


गत बुधवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसद बिन्दमान बिष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालय, सीता नेपालीलाई नेपालीलाई  जलश्रोत तथा उर्जा विकास मन्त्रालय र गोपाल  शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए  । नवनियुक्त मन्त्रीहरुको शपथ गएको बिहीबारलाई तय गरिएपनि काँग्रेससँग कुरा नमिलेपछि स्थगित भएको थियो । 

नेपाली कांग्रेस संसदीय दलको नेता तथा सांसद जीवनबहादुर शाहीले आफुहरु तत्काल सरकारमा जाने नजाने विषयमा टुंगो नभएको बताए । ‘कर्णाली सरकारमा जाने निधो अहिलेसम्म भएको छैन’ शाहीले भने, ‘हामीले सहयोग गर्यौँ अब जाने भएपछि विस्तारै जाऔला । अहिले हामीलाई हतार छैन ।’

तपाईंहरुले भनेजस्तो मन्त्रालय पाउनुभयो भने सरकारमा जानुहुन्छ भन्ने प्रश्नमा नेता शाहीले भने, ‘भनेजस्तो एउटा दुईवटा मन्त्रालय पाएपछि जाने नत्र जनाने भन्ने कुरै होइन । सरकारमा गए पनि विस्तारै जान्छौ ।’  सरकारलाई सहयोग गरे पनि तत्कालै सरकारमा नजाने शाहीको भनाइ छ ।

‘हुँदाहुँदै राजनीति अलि फरक ढंगले पनि आयो’ प्रदेशमा मन्त्रालय बाँडफाडलाई संकेत गर्दै उनले भने, ‘माथि केन्द्रमा पनि राजनिति फरक किसिमले गइरहेको छ ।’ यता नवनियुक्त जलस्रोत तथा उर्जा विकास मन्त्री सीता नेपालीले पद तथा गोपनियताको शपथको विषयमा टुंगो नलागेको बताइन् । यस विषयमा छलफल भइरहेको नेपालीले जानकारी दिइन् । 


Author

थप समाचार
x