राजनीति

नेपाल समूहको चिन्‍ता : ओलीले सहमति गरेर कार्यान्वयन गरेनन् भने ?

इकागज |
जेठ १, २०७८ शनिबार १०:४७ बजे

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्‍दैछ । हिजो बसेको बैठकमा केन्द्रीय सदस्यहरू सबैले बोल्‍न नपाएकाले आज बैठक बस्‍न लागेको हो ।

शुक्रबार बसेको बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्यहरूले २०७५ जेठ २ गतेको अवस्थामा एमाले नफर्किए प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्‍न नहुने धारणा राखेका थिए । 'हामीले जेठ २ गतेको अडानबाट पछि नहट्‍न सुझाव दिएका छौँ' नेपाल समूहकी केन्द्रीय सदस्य दिलु पन्तले भनिन् 'यदि ओलीले नमाने नमिल्‍न सुझाव दिएका छौँ ।'


हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले ओलीले निर्णय र सहमति मात्रै गरेर कार्यान्वयन नगर्ने हुन् कि भन्‍ने चिन्‍ता व्यक्‍त गरेका थिए । ओलीले यसअघि पनि पटक-फटक निर्णय गर्ने तर कार्यान्वयन नगर्ने भएकाले त्यसलाई सोच्‍न शीर्ष नेतालाई सुझाव दिएका छन् । ओली विधि र विधान अनुसार चल्‍नुपर्ने उनीहरूले बताएका छन् ।

फागुन २८ गते बसेको एमालेको ओली समूहको बैठकले नेपाल समूहका नेताहरूलाई जिम्‍मेवारीबिहिन बनाएको थियो । ओलीले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । सो निलम्बन बिहीबार ओली प्रधानमन्त्रीमा नियुक्त हुनुअघि बैठक बसेर फुकुवा गरिएको थियो । सोही बैठकले नेकपा माओवादीबाट आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरूलाई ओलीले जिम्‍मेवारी दिएका थिए ।

शुक्रबार बसेको एमालेका शीर्ष नेताहरूको बैठकले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति  गरेका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन  गम्भीर छलफल भएको बताएका थिए । '२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो, ' नेता रावलले भनेका थिए, 'त्यसका  लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ  ।'

बिहीबार ओली र नेपालबीच छलफल भएर एमालेको विवाद केही समयसम्म साम्य छ । ओली र नेपाल हिजोको बैठकले मिलेपछि संसदमा ठूलो दलको हैसियतले ओली प्रधानमन्त्रीमा बिहीबार राति नियुक्त भएका छन् ।


Author

थप समाचार
x