राजनीति

जुम मिटिङमा सदस्यहरूको नेपाललाई प्रश्‍न

पार्टीको पुरानो विवाद मिलाउने वार्तामा भर्खरै प्रवेश थापाको सहभागिता किन ?

‘नेतृत्वले अल्मल्याउन खोज्ला, सचेत हुनुहोला’

इकागज |
जेठ १, २०७८ शनिबार २०:३१ बजे

काठमाडौँ : एमालेको पुरानो विवादमा रामबहादुर थापालाई सामेल बनाएको बैठकमा उपस्थित भएको भन्दै माधवकुमार नेपाल समूहका सदस्यहरूले आपत्ति जनाएका छन् । आज हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा उठेका विषयबारे जानकारी दिन गरिएको ‘जुम मिटिङ’ भर्खरै पार्टी प्रवेश गरेका थापालाई पुरानो विवाद मिलाउने बैठकमा सहभागी बनाइनु अनुचित रहेको भन्दै आपत्ति जनाएका हुन् । 

मिटिङमा सहभागी केन्द्रीय सदस्य निरज आचार्यले नितान्त पूर्वएमालेको विवादमा अस्ति भर्खरै पार्टी प्रवेश गरेका थापालाई सहभागी बनाएको बैठकमा किन कुराकानी गरेको भनेर नेताहरूलाई सदस्यहरूले प्रश्‍न गरेको बताए । ‘नितान्त पूर्वएमालेको विवादमा अस्ति भर्खरै प्रवेश गरेका रामबहादुर थापालाई राखेर समाधान निस्कदैन,’ मिटिङमा सदस्यहरूले राखेको धारण उद्धृत गर्दै आचार्यले इकागजसँग भने, ‘एमालेको विवादमा थापालाई इन्ट्री गराउनु अनुचित कुरा थियो । थापा स्वयं पनि त्यहाँ उपस्थित हुनु हुदैनथ्यो । त्यस विषयमा साथीहरूले कुरा उठाउनु भयो ।’


जवाफमा नेता नेपालले आफूहरूले वार्तामै आपत्ति जनाएको स्पष्टीकरण दिएका थिए । 

आचार्यका अनुसार थापालाई पार्टीमा प्रवेश गरेकाले स्वागत गर्ने र उपयुक्त खालको जिम्मेवारी दिनु ठिक भएपछि उनी पार्टी प्रवेश गर्नु अगाडिको विवादमा सामेल गराउनु उपयुक्त नहुने बताएका थिए । 
नेता नेपालले मिटिङमा अधयक्ष ओलीसँगको वार्तामा २०७५ सालको जेठ २ गते अगाडिका संरचनामा नै उभिएर बैठक बसेर पार्टी सञ्‍चालन गरौं भन्‍ने धारणा राखेको जानकारी सदस्यहरूलाई गराएका थिए । 

‘त्यसयताका विवाद र समस्या समाधान गर्ने कार्यदल बनाऊ । कार्यदलले व्यवस्थापन गर्ने कार्ययोजना ल्याउँछ । भन्ने धारणा आफूले बैठकमा राखेको जानकारी उहाँले हामलाई गराउनु भयो,’ आचार्यले भने । 

त्यस्तै सदस्यहरूले वार्ता भनेर अल्मलिने र अल्मल्याउने कुरामा सचेत रहन सुझाएका थिए । ‘ठोस ढंगले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नु पर्छ । इमान्दारीपूर्वक पार्टी कार्यकर्तालाई अगाडि बढाउनुपर्छ । जालझेल तिकडम गर्ने, यसलाई उपयोग गर्ने, दाउँपेजका रूपमा प्रयोग गर्ने विगतदेखि नेतृत्वबाट हुँदै आएको छ, अब त्यस्तो नहोस भन्नेमा सचेत हुनुहोला । सतर्क रहनुहोला भन्‍ने सुझाव नेताहरूलाई साथीहरूले दिनुभयो,’ आचार्यले भने । 


Author

थप समाचार
x