राजनीति

सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक छ : मन्त्री बस्नेत

इकागज |
चैत १८, २०८० आइतबार १६:५१ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा मन्त्री बस्नेतले नेपालमा ऊर्जाको माग र खपत वर्षभरि नै लगभग समान रहेपनि जलविद्युत् उत्पादन भने वर्षायाममा बढ्ने र सुक्खायाममा घट्ने भएकाले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका हुन् ।


उनले सौर्य ऊर्जाको प्रवर्द्धनसहित ऊर्जा पहुँच बढाउन र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नका लागि सौर्य गठबन्धन गठन भएको तथा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरू यसका आबद्ध रहेको जानकारी दिए । उक्त सम्झौतामा एक सय १८ देशले हस्ताक्षर गरिसकेको र ९७ देशले स्वीकृत नै गरिसकेको ऊर्जामन्त्री बस्नेतले जानकारी दिए ।

जलवायु परिवर्तनका चुनौतीसँग जुध्नका लागि स्वच्छ ऊर्जा प्रयोगमा जोड दिने तथा ऊर्जा सुरक्षालाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धताका लागि नेपालले यो सम्झौता पत्रमा हस्ताक्षर गरेको उनको भनाइ छ ।

बैठकमा सांसदहरूले सौर्य ऊर्जाका क्षेत्रमा ठूलो वैदेशिक लगानी भित्र्याउन सकिने सम्भावना रहेको भन्दै यसको आवश्यकता बढी रहेको धारणा राखेका थिए ।


Author

थप समाचार
x