राजनीति

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छ : मुख्यमन्त्री अधिकारी

इकागज |
चैत २७, २०८० मंगलबार १८:२४ बजे

फाइल तस्बिर

पर्वत- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गरे ।

फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र आफूले विश्वासको मत पाउनेमा कुनै शङ्का नरहेको पनि उनको भनाइ रहेको छ । 


पृथ्वीसुब्बा गुरुङ नेतृत्वको पहिलो गण्डकी सरकारले थालेका अधुरा कामलाई आफूले पूर्णता दिने उनले बताए । ‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’ भन्ने मूल नारालाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले अहोरात्र खटेर काम गर्ने उनको भनाइ थियो । 

संविधान अनुरूप नै नयाँ सरकार गठन भएकाले यसलाई असंवैधानिक भन्नु गलत भएको भन्दै उहाँले कार्यकर्तालाई निराश नभइ सरकारलाई सक्दो सहयोग र हौसला प्रदान गर्नसमेत आग्रह गरे । 


Author

थप समाचार
x