राजनीति

विपद्‍बारे सभामुख सापकोटाले गरे प्राधिकरण र विज्ञहरूसँग छलफल

इकागज |
असार ८, २०७८ मंगलबार १९:१७ बजे

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकण र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग छुट्टा-छुट्टै छलफल गरेका छन् । 

सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक, मनाङ्लगायत देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानले पुर्याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यकाबारे जानकारी गराएको थियो ।


पोखरेलले छलफलमा विपद्ग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुसार अघि बढ्नु पर्ने बताएका थिए ।

सभामुख सापकोटाले विपत्तिबाट समस्यामा परेकाहरूलाई यथासक्य छिटो सम्बोधन गर्न र सबैभन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन सुझाव दिएका उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले यसअघि आइतबार सिंहदरबारस्थित कार्यकक्षमा विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञहरूसँग पनि छलफल गरेका थिए । सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनस्र्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रित छलफलका सहभागीहरूले नेपालका ७७  जिल्ला मध्ये भूगोल र मौसमका हिसाबले सिन्धुपाल्चोक निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताएका थिए । 

विज्ञहरुले पूर्वतयारीका लागि पूर्वसूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदि नियन्त्रणका क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने धारणा राखेका थिए । छलफलमा विज्ञहरू डा.गंगालाल तुलाधर, डा.हरिकृष्ण श्रेष्ठ, डा.रञ्जनकुमार दाहाल, डा.कृष्ण देवकोटा र डा.रविनराज निरौला सहभागी थिए ।

सभामुख सापकोटाले आजै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् । 
 


Author

थप समाचार
x