राजनीति

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक सुरु

इकागज |
असार ९, २०७८ बुधबार १८:१९ बजे

काठमाडौँ  :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका हुन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका प्रतिनिधिसहितको बैठक सुरु भएको हो । बैठकमा सहभागी हुन नेताहरु आउने क्रम जारी रहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले इकागजलाई जानकारी दिए ।  


बैठकमा समसामयिक राजनीतिबारे छलफल सुरु भएको बताइएको छ।  देउवाले कांग्रेकोतर्फबाट आफूसहित वरिष्ठ नेता पौडेल र महामन्त्री पूर्णबहादुर खड्का पनि सामेल छन् । बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसलगायतबारे छलफल हुनेछ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि यी दलले गठबन्धन बनाएका छन् । पछिल्लो समय सरकारका असंवैधानिक कदमविरुद्ध यो गठबन्धन एक भएर विरोधमा उत्रिएको छ ।  

 


Author

थप समाचार
x