राजनीति

आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट हुनुपर्छ : मन्त्री यादव

इकागज |
साउन २०, २०७८ बुधबार १४:१९ बजे

जनकपुरधाम - नीति तथा कार्यक्रमलाई अक्षरमै सीमित गर्ने प्रवृत्तिले संस्थागत संरचनाको औचित्यमाथि नै प्रश्न उठेको धारणा व्यक्त भएको छ । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको आव २०७७/७८ को वार्षिक प्रगति समीक्षा तथा प्रदेश मन्त्रालयगत विकास समस्या समितिको बैठकमा सहभागीहरूले यस्तो घारणा व्यक्त गरेका हुन् ।

प्रदेशका मुख्यसचिवलाई छलफलका लागि आग्रह गर्दा चासो नदिँदा समस्या बढ्दै गएको आरोप लगाएका व्यक्तिहरूले भौतिक विकासलाई मात्र विकास विकासको रूपमा नलिएर‍ सामाजिक, सांस्कृतिक मनोवैज्ञानिक विकासमा पनि ध्यान दिनुपर्ने बताए ।


भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आवश्यकता र प्राथमिकता निर्धारण गरी योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । उनले आपसी समन्वयको कमीले समस्या समाधान गर्न कठिन भएको र होडबाजीले योजना छनोटदेखि कार्यान्वयनसम्म समस्या आएको बताए ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले सिद्धान्त एकातिर र कार्यान्वयन अर्कोतिर हुनु बिडम्बना भएको बताए । सदस्य डा. वैद्यनाथ महतोले योजना छनोट गर्दा धरातलीय अवस्थालाई ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । मन्त्रालयका सचिव दीपककुमार दासले उपलब्धिमूलक योजना छनोट गर्नुपर्ने  खाँचो औँल्याए । अभियानकर्मी कृष्णकुमार मिश्रले कोरोना सङ्क्रमणका कारण योजनाको कार्यान्वयनमा समस्या आए पनि मन्त्रालयअन्तर्गतका ३२ वटा कार्यालयको वार्षिक कार्यक्रम सन्तोषजनक रहेको बताए । रासस


Author

थप समाचार
x