राजनीति

एमाले संगठनहरूमा १० बुँदे कार्यान्वयन गराउन कार्यदल गठन

इकागज |
भदौ १०, २०७८ बिहीबार १८:५९ बजे

काठमाडौँ – नेकपा एमालेले पार्टीका सबै जनवर्गीय संगठनहरूमा १० बुँदे सहमति कार्यान्वयन गराउनका लागि कार्यदल गठन गरेको छ । बिहीबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले कार्यदल गठन गरेको हो ।

सबै जनवर्गीय संगठनहरूलाई २ जेठ ०७५ अघिको अवस्थाबाट क्रियाशील बनाउन कार्यदल गठन गरिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यदलमा पूर्वमाओवादीबाट एमालेमा आएका एकसहित चार जना सदस्य छन् ।


महासचिव ईश्वर पोखरेल नेतृत्वमा गठित कार्यदलमा उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र माओवादीबाट एमालेमा रहेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी छन् ।

एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा २ जेठ अघिको नेतृत्व फेरिएका छन् । अब कार्यदलले बाँकी सबै संगठनलाई २ जेठकै अवस्थामा पुर्‍याउने उनले बताए । जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने ज्ञवालीले बताए ।


Author

थप समाचार
x