राजनीति

बालुवाटारको छाँयामा स्वास्थ्य र गृह मन्त्रालय

अवकाश पाउन लागेका स्वास्थ्यका कर्मचारीलाई पुनः जिम्मेवारी दिने

अतिन आचार्य |
असोज १९, २०७८ मंगलबार १८:१३ बजे

काठमाडौँ- शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दुई मन्त्रालय सबैभन्दा बढी सक्रिय छन् । मन्त्रालयको परिणाम न्यून  छ । उनीहरु आफ्ना मातहतका कर्मचारीलाई काम दिनुभन्दा पनि सरुवा गर्न व्यस्त देखिन्छन् । देउवाको नेतृत्त्वको सरकार बनेपछि कर्मचारी सरुवामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालय अगाडि देखिएका छन् । 

हरेक सरकारले आ-आफ्नो अनुकुल कर्मचारी नियुक्त गर्छन् नै । सोही अनुरुप देउवा सरकारले पनि कर्मचारीको सरुवा गरिरहेको छ । यसअघिका पूर्ववर्ती सरकारले कर्मचारीलाई व्यापक हेरफेर गरेका थिए । विगतका सरकारले गरे जस्तै अहिलेको सरकारले पनि कामभन्दा कर्मचारी सरुवालाई पहिलो प्राथमिकतामा राखी काम गरिरहेका छन् ।


स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका विभिन्‍न अस्पताल तथा स्वास्थ्य सेवा विभागका कर्मचारी सरुवा गरिसकेको छ । त्यसैगरी गृह मन्त्रालयले सिडिओ र अध्यागमन विभागका कर्मचारीलाई व्यापक हेरफेर गरेको छ । 

मुलुक कोभिड-१९ को महामारीमा छ । दैनिक हजारको हाराहारीमा संक्रमित थपिने र करिब १० संक्रमितको मृत्यु हुने गरेको छ । अधिकांश नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । सरकारको प्राथमिकतामा कोभिड नियन्त्रण भन्दा कर्मचारी चलाउनमा नै  छ । 

महामारीको समयमा सबैभन्दा बढी स्वास्थ्य र गृह मन्त्रालय सक्रिय हुनुपर्ने थियो । काम गर्न भन्दा पनि तर, कर्मचारी सरुवा गर्न व्यस्त छन् । तर, स्वास्थ्य मन्त्रालय कर्मचारी सरुवा गर्नमा ध्यान दिइरहेको छ । मन्त्रालयले उपत्यका लगायत बाहिरी जिल्लाका अस्पतालका निर्देशकको सरुवा गरिसकेको छ । मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागकै विभिन्‍न महाशाखाका कर्मचारीलाई समेत सरुवा गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कतिपय कर्मचारीलाई सरुवा गरिसकेकालाई पनि रद्द गरेको थियो । राज्यमन्त्री उमेश श्रेष्‍ठले आफ्नो स्वेच्छाले कर्मचारीको सरूवा नगरी बालुवाटारको 'मोहरा' बनिरहेको आरोप लागेको छ । केही दिन अघि मन्त्रालयले राष्‍ट्रिय ट्रमा सेन्टरको निर्देशक सरुवा गरेको थियो । मन्त्री श्रेष्‍ठले कर्मचारी सरुवा गर्ने निर्णय गरेको केही समय पश्‍चात पुनः निर्णय गरेको थियो ।

पछिल्लो समय मन्त्रालयले स्वविवेक प्रयोग नगरी आफ्ना मातहतका कर्मचारीको सरुवा, बढुवामा प्रधानमन्त्री पत्‍नी आरजुको इशाराले काम गरिरहेको स्वास्ठ्‍यका कर्मचारीहरु नै बताउँछन् । उदाहरणस्वरुप सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका डा. आरपी विच्छाको समयावधि थप्‍ने तयारी गरिसकेको छ । देउवा सरकारले विभागका १२ औ तहका कर्मचारी रमण सिंहलाई हटाएर विच्छालाई नियुक्त गरेको थियो ।

यसअघि उनी कान्ति बाल अस्पतालका निर्देशक थिए । तर, आरपी विच्छाले आगामी कात्तिक ६ गते उमेर हदका कारण अवकाश पाउनेछन् । समय अगावै मन्त्रालयले कानुनको छिद्र खोजेर उनको म्याद थप्‍न लागिसकेको छ । राज्यमन्त्री श्रेष्‍ठलाई मोहरा बनाएर कर्मचारीको सरुवा, बढुवामा नियुक्ती बालुवाटारले गर्दै आएको छ ।

अवकास पाउन लागेका डा. विच्छालाई बालुवाटारको आडमा स्वास्थ्य मन्त्रालयले समय थप्न मन्त्रीपरिषदको बैठकमा फाइल पठाइसकेको जानकारी स्वास्थ्यका बरिष्ठ अधिकारीले बताए । डा. विच्छाको समय थप्‍न प्रधानमन्त्रीको कार्यालयमा फाइल पठाइसकेको मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले जानकारी दिए । 'नियम अनुसार एउटै कर्मचारीको समय थप्न मिल्दैन, ' उनले भने ।

डा. विच्छाले मन्त्रालयमा सेवा अवधि थप्‍न इच्छुक भएकाले निवेदन समेत पेश गरेका थिए । गृह मन्त्रालयले शान्ति सुरक्षामा ध्यान दिनुपर्छ । प्रत्यक्ष रुपमा नागरिकको जीउधन रक्षा गर्नुपर्नेछ । विभिन्‍न ठाउँमा भएको दैवी प्रकोपको घटनाले असहज अवस्था बनाइरहेको समयमा मन्त्रालयको ध्यान त्यता छैन । मन्त्रालय कर्मचारी सरुवामै व्यस्त छ ।

दुई महिनामा गृह मन्त्रालय मातहतका कर्मचारी किन यति धेरै सरुवा गरिएको भन्ने इकागजको प्रश्‍नमा प्रवक्ता फणीन्द्रमणी पोखरेल भन्छन,' जिल्लाका सीडीओ सरुवाहरू नियमित हो । आवश्यकता अनुसार पनि समय-समयमा सरुवा भइरहन्छ ।' निजामती कर्मचारी सरुवा हुनु नौलो नरहेको पोखरेलको भनाइ छ । उनकाअनुसार कतिपय अवस्थामा सिडीओले राम्रो नेतृत्त्व गर्न नसक्दा पनि कर्मचारीलाई यताउता गरिन्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x