राजनीति

प्रदेश-१

विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री आचार्यले भने- थपक्कै कसैको हातमा हालिदिने हो र ?

इकागज |
असोज २०, २०७८ बुधबार १७:२८ बजे

विराटनगर - असोज २३ भित्र विश्वासको मत लिने तयारी गरेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विपक्षी दलहरूले दाबी गरेजस्तो अर्को सरकार बनिहाल्ने कुरामा आफु विश्वस्त नभएको बताएका छन् । बुधबार प्रदेश १ को प्रदेशसभाको नयाँ सभा भवन उद्घाटनपछि बोल्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षी दलहरूले भनेजस्तो अर्को सरकार बनिहाल्ने अवस्था नरहेको र आफ्नै नेतृत्वको सरकारले विश्वासको मत लिन सक्ने बताएका हुन् । मुख्यमन्त्री आचार्यले प्रदेश १ को प्रदेशसभामा कुनैपनि दलसँग स्पष्ट बहुमत नभएकोले सबै दल अल्पमतमा रहेको जिकिर गरे । 

'लडाइँ झगडा जरुरी छैन, सहमतमै यै सरकारलाई अघि बढाऔं, दशैं पछाडि मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्’ विपक्षी दलका नेताहरूतर्फ संकेत गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘सरकार परिवर्तन भनेको थपक्क कसैको हातमा हाल्दिने हो र ?, यो सरकारले विश्वासको मत लिन्छ, दुई चार दिन तलमाथि हुनसक्छ ।’


विपक्षी गठबन्धनका नेताहरूले आचार्य नेतृत्वको सरकारस“ग एमालेका ४० सांसदको मात्रै समर्थन रहेको दाबी गर्दै आएका छन् । एमालेबाट १० जना सांसदहरू दल परिवर्तन गरेर नेकपा (एकीकृत समाजवादी) मा गएपछि वर्तमान सरकार स्वतः अल्पमतमा परेको छ । 

दल फुटेकै कारण मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत समेत लिने गरी संसदको हिउँदे अधिवेशन असोज २२ गते अपरान्ह २ बजेका लागि बोलाउने निर्णय गरेका थिए । सोही अनुसार प्रदेशसभाको बैठक २२ गते आह्वान भइसकेको छ ।

मुख्यमन्त्री आचार्यले आफैंले बनाएको संविधानको प्रतिकुल भएर आफु अघि नबढ्ने बताए । उनले सवै दलको आ–आफ्नो ठाउँमा महत्व रहेको भन्दै झगडा र तल्लो स्तरको गालिगलौज गरेर अघि नबढ्न समेत विपक्षी दलहरूलाई आग्रह गरे ।विपक्षी दलका नेताहरूले भने मुख्यमन्त्रीले गणीतिय रुपमा विश्वास गुमाईसकेकोले नैतिकताका आधारमा राजिनामा दिइहाल्नुपर्ने बताएका थिए ।

३ करोड १० लाखमा प्रदेशसभा हल तयार

यसैबीच बुधबार उद्घाटन गरिएको प्रदेश १ को प्रदेशसभा बैठक भवन ३ करोड १० लाख रुपैया“को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार भवन निर्माणतर्फ २ करोड ५१ लाख रुपैया“मा ठेक्का लागेको जानकारी दिए । भवनभित्र आवश्यक पर्ने इलेक्ट्रोनिक कार्य र साजसज्जा समेत गरेर थप ५० लाख रुपैयाँ खर्च भएको बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले पहिलेको सभा हल साँघुरो भएका कारण बैठक बस्नै कठिनाई भएकोले नयाँ सभाहल निर्माणको प्रक्रिया अघि बढाएको र सरकारले समेत बजेट विनियोजन गरेर तोकिएकै समयसिमाभित्र सभाहल तयार भएको जानकारी दिए ।

आउ“दो शुक्रबारदेखि सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशन नयाँ सभाहलमै बस्ने जनाइएको छ । सभा भवनभित्र सांसदहरूलाई सहज हुने गरी टेबुल कुर्सी व्यवस्थापन गरिएको छ । त्यसैगरी दर्शक दिर्घा र पत्रकारहरूका लागि पनि अलग्गै बस्ने कक्ष तयार गरिएको जनाइएको छ ।


Author

थप समाचार
x