राजनीति

नेकपा विवाद

जता थापा उतै सूर्य

४१ वर्षपछि वामदेवसँगको बाटो मोडियो

अनिष भट्टराई |
पुस १२, २०७७ आइतबार १५:२८ बजे

पोखरा : २०३६ सालबाट राजनीति थालेका गुमानसिंह अर्याल २२ वर्षमा तत्कालीन मालेमा प्रवेश गरे । २०४३ को स्थानीय चुनावमा उनी बेसीसहर गाउँ पञ्‍चायतको प्रधानपन्चमा जनपक्षीय उम्मेदवार बने । चुनाव जिते । मालेमा आवध्द भएदेखि नै वामदेव गौतमका समर्थक थिए ।

उनकै समर्थनमा २०४९ मा जिविस सभापतिको उम्मेदवार बने । तर, पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेपछि उनले उम्मेदवारी त्याग्‍नुपर्‍यो । गौतम पक्षधर उनी २०५४ मा बेसीसहर गाविसको अध्यक्ष बने । २०५४ मा पार्टी फुटेपछि उनी वामदेव सम्मिलित मालेमा प्रवेश गरे । वामदेवकै तर्फबाट उनी लमजुङको पार्टी जिल्ला उपसचिव बने ।
 
पार्टी एकीरण भएपछि वामदेवकै समर्थनमा उनी दुई पटक पार्टीको उपाध्यक्ष बने । तर नेकपा एमालेको नवौं महाधिवेशनमा उनी वामदेवको विरुध्दमा उभिए । वामदेव गौतम केपी शर्मा ओलीको पक्षमा लागेपछि उनले वामदेवको साथ छाडे र माधवकुमार नेपालको पक्षमा उभिए ।


अर्याल आफूलाई ओलीका कट्टर आलोचक बताउँदै माधव पक्षमा लागेका थिए । २०७४ को स्थानीय निर्वाचनमा उनी नेपालकै समर्थनमा बेसीसहरको प्रमुखमा उम्मेदवार बनेर जिते । तर, अहिले नेपालसँगको उनको सहकार्य टुटेको छ । सत्तारुढ नेकपा विभाजन हुँदा अर्याल ओली पक्षको केन्द्रीय सदस्य बनेका छन् ।
 
‘म पहिलेबाट नै वामदेवको समर्थक हुँ, पछि उनी ओलीको पक्षमा गएपछि साथ छाडिदिएँ,’ उनी भन्छन्, ‘विचारका कारण होइन, म विधि नमान्‍नेसँग मिल्न सक्दिनँ ।’ पार्टी एकीकरण बचाउन र जनताको मतको कदरका लागि ओली समूहमा लागेको अर्याल बताउँछन् । ‘म ओलीको विरोधी थिएँ, तर जनमतको कदर गर्न, पार्टी एकीकरण बचाउन म यहाँ लागेको हुँ,’ उनी भन्छन्, ‘नेपाल पक्षले अहिले जनमतको कदर छाडेकाले साथ छाडें ।’ 
...
भर्भराउँदो १६ वर्षे उमेर । तातो रगत, अनि जोस उस्तै । स्याङ्जाका सूर्यप्रसाद गैरे ले १६ वर्षमै घर छाडे । उनी २०५८ को सुरुआतमै माओवादीको पूर्णकालीन भएर घर छाडे । ५ महिनासम्म विद्यार्थी संगठन बनाउन लागे । त्यसपछि माओवादीको सैन्य टिममा भर्ती भए ।

६० सालमा उनी नवलपरासी, चितवन र बुटवलमा खटाइए । सेमोरी क्याम्पमा भदौ १९ गते भएको सैन्य आक्रमणका क्रममा उनी पक्राउ परे । २२ महिना नजरबन्दमा परे, हातमा हतकडी अनि खुट्टामा नेल । 

माओवादीले देश विकासका लागि देखाएको सपनामा उनी चुर्लुम्म डुबे । २ वर्षमै उनको भेट सैन्य कमान्डर रामबहादुर थापा, डा.बाबुराम भट्टराई र पुष्पकमल दाहालसँग भयो । थापाको कमान्ड गर्ने शैली सूर्यलाई मन पर्‍यो । तर धेरै समय थापासँग हिँड्न पाएनन् । 

नजरबन्दमा परेको २२ महिनापछि सूर्यलाई हेलिकप्टरमार्फत पोखराको फूलबारी ब्यारेक ल्याइयो । अनि कास्कीको कारागारमा चलान भए । शान्ति प्रक्रिया सकिएपछि उनी २०६३ असार ३ मा रिहा भए । ३ महिने परीक्षणकाल पछि फेरि लागे आफ्नै संगठनतिर ।  

माओवादीको स्याङ्जा जिल्ला समितिमा प्रवेश गरे । तत्कालीन माओवादीको जिल्ला सदस्य र कार्यालय सचिव भएर काम गरे । बीचमा मोहन वैद्य, दाहाल र बाबुरामबीचको वैमनश्यले पार्टी विभाजन भयो । उनी त्यस समय वैद्य खेमामा उभिए, कारण थियो- थापा उतै गएका थिए ।

वैद्य समूहबाट जिल्ला सचिव बने । पछि पुनः दाहाल समूहसँग एकीकरण भएपछि उनी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य र स्याङ्जा जिल्ला संयोजक बने । एमाले र माओवादी एकीकरणपछि नेकपाको जिल्ला अध्यक्ष उनै हुन् । 

जनयुध्दमा होमिएका, घर परिवार दाहाल समूहका लागि त्यागेका सूर्य अहिले नेकपा ओली समूहसँग मिसिएका छन् । सूर्य किशोरावस्थामा जनयुध्दका लागि हिँडेबाटै थापा समर्थक थिए । जनयुध्दको नेतृत्व गरेका दाहालभन्दा उनलाई बादलमाथि नै विश्‍वास छ ।

तर उनी नेकपा (ओली समूह)ले थप गरेको केन्द्रीय सदस्यमा भने थापाभन्दा पहिला गए । यसको कारण चाहिँ के थियो ? उनी भन्छन्, ‘बादल कमरेडसँग कुरा भइरहेको थियो, उहाँले घुमाउरो गरी बालुवाटारको बाटो देखाएपछि म त्यता गएको हुँ ।’ 

जनयुध्दका डोब भर्न प्रतिबध्दता देखाएकाले ओली समूहमा लागेको सूर्य बताउँछन् । अहिले थापा झन् ओली पक्षमा आएपछि यसै समूहबाट जनयुध्दका घाउ मेट्न सकिने उनको विश्‍वास छ । दाहालले जनयुध्दका योध्दाको नेतृत्व गर्न नसकेकै हो त ? सूर्य भन्छन्, ‘बादल हाम्रो कमान्डर हुनुहुन्थ्यो, प्रचण्डभन्दा उहाँले हामी योध्दालाई बुझ्नु भएको छ ।’

आफ्ना पूर्वनेता दाहाललाई छाड्नुमा केवल थापामात्र कारण नभएको उनको दाबी छ । पार्टी एकीकरणका बेला राखिएको विधान मिचेकाले आफू ओली समूहमा आएको उनी बताउँछन् । ‘हाम्रो विधानमा अल्पमत, बहुमत केही भनेको छैन, जबज र जनयुध्दका कुरा एकैसाथ लिएर जाने भनिएको छ,’ उनी भन्छन्, ‘तर उहाँमा त्यस्तो देखिएन, जबज र जनयुध्दका घाउप्रति ओली प्रतिबध्द हुनुहन्छ ।’
 
ओली समूहको केन्द्रीय सदस्य बन्‍नुअघि उनलाई दाहाल, नेपाल, नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पद्‍मा अर्याल, विष्णु पौडेललगायतको फोन आयो । तर उनी ती कोहीको कुरामा पनि प्रतिबध्दता जनाउन सकेनन् । अन्तिममा आफ्ना मनले खाएका नेता थापासँग कुरा गरेपछि भने आफू ओलीतिर लागेको उनको भनाइ छ ।  
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x