राजनीति

पौडेल निवास पुगेर देउवाले भने : छलफल गरौँ, मिलेर जाऔं

सन्तोष अधिकारी |
माघ ५, २०७७ सोमबार १९:५ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता रामचन्द्र पौडेललाई उनकै निवास बोहोराटार पुगेर भेटेका छन् । पार्टीको आन्तरिक विवाद मिलाउनको लागि भन्दै देउवा आफ्नो निवास आएको नेता पौडेलले इकागजलाई जानकारी दिए । 

कांग्रेसको संगठन समायोजनमा देखिएको विवादबारे दुई नेताबीच छलफल भएको हो ।  पार्टीको निर्वाचन समितिले बारा, सिन्धुपाल्चोक र सप्तरीको संगठन समायोजनमा विवाद देखिएपछि केही दिन अघि केन्द्रीय कार्यसमितिमा फिर्ता पठाएको थियो । आजको भेटमा माघ महिनाभित्र क्रियाशील सदस्यताको काम सम्पन्‍न गर्ने विषयमा छलफल भएको पौडेलले बताए ।  


‘पार्टीको समस्या कसरी समाधान गर्ने भन्‍ने विषयमा छलफल गर्न सभापति म कहाँ आउनु भएको हो,’ पौडेलले भने, ‘सांगठानिक समायोजनको काम मिटिङ राखेर सम्पन्‍न गर्ने भन्‍नु भएको छ । क्रियाशील सदस्यताको काम पनि माघ मसान्तमै सक्ने गरी काम अघि बढाउने सहमति भएको छ ।’ दिउँसो ४ः३० बजे एक्लै बोहोराटार पुगेका देउवा करिब एक घण्टा पौडेलसँग छलफल गरेर निस्किएका हुन् । 

प्रतिनिधि सभा विघटनविरुध्द अदालतको निर्णय कुर्ने तर, असंवैधानिक कदमविरुध्द आन्दोलन पनि जारी राख्‍ने विषयमा छलफल भएको पौडेलको भनाइ छ । ‘प्रतिनिधि सभा विघटनको विषयमा खासै धेरै कुरा भएन,’ उनले भने, ‘यस विषयमा सर्वाेच्चको फैसला कुर्ने तर, केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विरुध्द भने पार्टी एक ढिक्का भएर अघि बढ्ने कुरा भएको छ ।’ देउवाले आफूसँग पार्टीका विषयमा अब मिलेर जाम भनेर भनेको पौडेलको दाबी छ ।

‘उहाँले (देउवा) छलफल गरौँ मिलेर जाम भन्‍नु भयो,’ पौडेल भन्छन्, ‘मैले पनि त यही भनेको हुँ मिलेर जाम पार्टीका विवादका विषयमा छलफल गरौँ, विधान कार्यान्वयन गरौँ ।’ पौडेलले पार्टीको अरु विवादको विषयमा भने अबको केन्द्रीय समितिमै छलफल गर्न सभापति देउवा राजी भएको बताए ।  

अन्य पार्टीबाट आएकाहरूलाई पार्टी स‌ंगठनमा समायोजन, क्रियाशील सदस्यता वितरणलगायतमा देउवा र पौडेलबीच मतभिन्‍नता रहदै आएको छ ।
 

 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x