राजनीति

विशेष अधिवेशनको ६ दिनसम्म दोहोरी मात्र खेल्नु सदनको अपमान

अनिष भट्टराई |
माघ ५, २०७७ सोमबार २०:२५ बजे

पोखरा : गण्डकी प्रदेश सभाको चालु विशेष अधिवेशनमा सर्वदलीय सहमतिमा पेस भएको साझा संकल्प प्रस्तावमा आइतबारबाट छलफल भइरहेछ । छलफलमा सहभागी सांसदहरू सरकारका काम कारबाहीबारे केन्द्रित रहेर धारणा राखिरहेका छन् । प्रतिपक्षी दलका सांसदहरूले सरकारले काम नगरेको धारणा राखिरहेका छन् भने सत्तारुढ दलभित्रै पनि एक समूह सरकारले पूरा काम गरेको र अर्को समूहले सरकारले काम नगरेको तर्क प्रस्तुत गरिरहेका छन् । प्रस्तावमाथिको छलफलमा नयाँ कुरा उठ्न सकेका छैनन् । 

‘विशेष अधिवेशनको ६ दिनसम्म यसका महत्वभन्दा पनि दोहोरी खेल्ने ठाउँ जस्तो बनाइयो । यो सदनको मर्म र भावना होइन, यो सदनप्रतिको अपमान हो,’ नेकपा सांसद रामबहादुर गुरुङले भने । 


गुरुङले अहिले प्रदेश सरकार र केन्द्र सरकारले कोभिड-१९ को विषयमा जगमात्र नभइ घर नै बनाएर काम गरिरहेको बताए । सरकारले काम गरिरहे पनि संकल्प प्रस्तावमा भइसकेका काम दोहोर्‍याइएको सुनाए । 
बर्खे अधिवेशनमा प्रतिपक्षीले ल्याएको संकल्प प्रस्ताव फेल गराएर सत्तारुढ दलले ‘सही’ गरेको उनको भनाइ छ । ‘वास्तवमा सरकारले जे गर्‍यो, त्यो ठीक गर्‍यो । सरकार परिस्थिति अनुसार अघि बढेको थियो,’ उनले भने । 
साझा सहमतिको संकल्प प्रस्तावमा अरु सांसद पनि सरकारको विरोध र समर्थनमै अल्झिएका थिए । 

कांग्रेस सांसद भागवत्प्रकाश मल्लले सरकार अझै पनि सरकारी अस्पतालको सुदृढीकरण गर्न नसकेको बताए । ‘अझै पनि सरकारी अस्पतालमा ज्यान जाने र जोगाउने अझै पनि निश्चित छैन,’ उनले भने । मल्लले सरकार अहिले आफ्नो बोली कार्यान्वयन गर्न चुकिरहेको बताए । 

नेकपा सांसद जुनादेवी नेपालीले गण्डकी प्रदेश सरकारले कुनै पनि भौतिक पूर्वाधारबिना जनता बचाउन सफल भएको बताइन् । वास्तविकता र धरातलमा उभिएर बहस गर्न उनले विपक्षीलाई आग्रह गरिन् । 

कांग्रेस सांसद बिन्दुकुमार थापाले आफू सांसद भएर पनि आफ्नी कोभिड संक्रमित सासुलाई बचाउन नसकेको भन्दै अरु साधारण जनताले ज्यान बचाउन सक्ने स्थिति नरहेको बताए । आफ्नी सासुलाई तत्कालै उपचार चाहिएका बेला प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आफ्नो फोनपनि नउठाएको र मन्त्रीले भोलिपल्ट ‘मिसकल’ मात्र गरेको बताए । ‘म यत्तिको सांसद जस्तो पहुँच थियो र पनि गाह्रो थियो, अरुलाई कस्तो भयो होला ?’ उनले भने । 

बर्खे अधिवेशनमा आफूहरुले लगेको संकल्प प्रस्तावलाई सत्तारुढ सांसदले ‘ढोकाबाट नभई झ्यालबाट ल्याइयो’ भनेर दुइतिहाइको दम्भ देखाए पनि अहिले पारित हुन बाध्य भएको थापाले बताए । 

प्रदेशको चालु विशेष अधिवेशनमा कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्ताव पेस गरेका थिए । सांसदहरु हरिशरण आचार्य, मायानाथ अधिकारी, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनमा प्रस्ताव ल्याइएको थियो । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x