राजनीति

गण्डकीमा दाहाल-नेपाल समूहलाई मुख्यमन्त्रीको 'अफर'

मनाङेले साथ छाडे, जसपालाई मन्त्रालयको अफर

अनिष भट्टराई |
माघ ६, २०७७ मंगलबार ७:४६ बजे

फाइल तस्बिर

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद अहिले ‘धर्मरिएको’ छ । प्रदेश सभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङका पक्षमा केही दिन अघिसम्म २७ सांसद थिए । मुख्यमन्त्री बन्‍ने बेला उनले राष्ट्रिय जनमोर्चाबाट पनि विश्वासको मत प्राप्त गरेका थिए । सोही अवस्था रहिरहे उनको पद जोगिने थियो ।

तर नेकपाको किचलोमा तटस्थ बसेका वामदेव गौतमको पक्षमा गण्डकीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लागेपछि मुख्यमन्त्री गुरुङका पक्षमा २६ सांसद मात्र हुनेछन् । राजमोको साथ पाए पनि उनीसँग २९ सांसद मात्र हुनेछन् । मनाङेले साथ छाडेपछि मुख्यमन्त्रीलाई केही खतरा छ । अहिलेसम्म दाहाल-नेपाल समूहका सांसदले उनको पदको बारेमा केही नबोले पनि उनीहरु केन्द्रको निर्णय मात्र कुरेका छन् । अब मुख्यमन्त्री गुरुङले पद जोगाउन जनता समाजवादी पार्टी वा कांग्रेस या दाहाल-नेपाल समूहमध्ये कसै न कसैको साथ लिनुपर्छ ।


यसका लागि मुख्यमन्त्री गुरुङले आन्तरिक तयारी थालिसकेका छन् । जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई पोखरा आउँदा दुई नेताबीच भेटवार्ता हुने कार्यक्रम थियो । तर उनीहरुबीच भेट नभए पनि मुख्यमन्त्री र बाबुरामबीच फोनवार्ता भएको जसपा सांसद हरिशरण आचार्यले जानकारी दिए । ‘भेट हुन सकेन । तथापि फोनमा सत्ता समीकरणबारे कुरा भएको थियो,’ सांसद आचार्यले भने ।

आचार्यका अनुसार मुख्यमन्त्री गुरुङले जसपालाई सहकार्यको प्रस्ताव राखेका छन् । तर सडक आन्दोलनमा गएकाले अब मुख्यमन्त्री गुरुङसँग सहकार्य हुन नसक्ने आचार्यले बताए । बरु संसद्‌ विघटनको विरोधमा आफूहरु सहकार्य गर्न सक्ने उनको जिकिर छ । ‘हामीलाई सहकार्यको प्रस्ताव आएको हो, सरकारमा सहकार्य भनेपछि मन्त्रालयकै अफर नै हो । यति उति र कुन मन्त्रालय भन्‍नुभन्दा पनि हामीलाई अफर आएको कुरा महत्वपूर्ण हो,’ आचार्यले भने, ‘संसद विघटनको विरोध कार्यक्रममा सहकार्य होला, सरकारमा हुँदैन ।’

दाहाल-नेपालका नेतालाई मुख्यमन्त्रीको अफर 
नेकपाको दाहाल-नेपाल समूह अहिले केन्द्रको निर्णय कुरिरहेको छ । केन्द्रले निर्णय लिनासाथ यहाँका सांसदले कदम चाल्नेछन् । तर गण्डकीका सांसदको सुझावलाई मनन गरेर नेकपाका अध्यक्ष पुष्‍पकमल दाहालले निर्णय लिने विश्वासमा छन् गण्डकीका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान । अहिले आफूहरु संघीयता र गणतन्त्र बचाउन लागेका चुमान बताउँछन् । ‘संघीयता मारेर हामी पदमा जानुको तुक छैन, हाम्रो सुझाव मनन गरेर नै केन्द्रको निर्णय आउँछ,’ मन्त्री चुमानले भने ।

इकागजसँगको संवादमा उनले आफूलाई मुख्यमन्त्री बन्‍न आफ्नै समूह र प्रतिपक्षीबाट अफर आएको बताए । अहिले उनलाई मुख्यमन्त्रीको अफर दिएर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ओलीइतर समूहले आग्रह गरेको उनले सुनाए । तर मन्त्री चुमानले आफू मन्त्री पदमै सन्तुष्ट रहेको र गुरुङ सरकारमै काम गर्न तयार रहेको बताउँछन् । ‘हाम्रो नतिजा के भइरहेको छ, त्यो हेर्ने हो । मन्त्री हुँदा नै राम्रा काम भइरहेछन्, उहाँ (पृथ्वीसुब्बा गुरुङ)को नेतृत्वमा बस्‍न केही असहजता छैन,’ चुमानले भने, ‘संघीयता उहाँको नेतृत्वमा खतरामा पर्‍यो भने म उहाँको ठाउँमा आएर संघीयताको रक्षा गर्न पनि सक्छु ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले अहिले कांग्रेसले सत्ता समीकरण बारे कुनै छलफल नै नचलाएको बताए । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले नै सरकार ढाल्ने खेलमा नलागेको बताउँछन् । नेकपा दाहाल-माधव समूहको संसदीय दलको भेलाले अरु दलसँग सत्ता समीकरणबारे छलफल गर्ने निर्णय गरेको थियो । तर त्यसअनुरुप आफूहरुले सत्ताका सांसदसँग कुनै छलफल नचलाएको उनले प्रष्ट्याए । 

गण्डकी प्रदेश सभा सदस्यको संख्‍या ६० रहेको छ । जसमा ओली समूहका २६ सदस्य छन् भने दाहाल-नेपाल समूहका सभामुखसहित १३ छन् । त्यस्तै कांग्रेस १५, राष्ट्रिय जनमोर्चा ३, जनता समाजवादी पार्टी २ र नेकपाका उपाध्यक्ष वामदेव गौतमका एक सदस्य छन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x