राजनीति

निर्वाचन आयोगलाई ओलीको दबाब : सूर्य चिन्ह हाम्रो हो, विवेक पुर्‍याएर निर्णय गर्नुस्

सन्तोष अधिकारी |
माघ २७, २०७७ मंगलबार १७:१९ बजे

निर्वाचन आयोगमा ओली

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू (आफू नेतृत्वको खेमा) ले नै सूर्य चिन्ह पाउनुपर्ने भन्दै निर्वाचन आयोगलाई दबाब दिएका छन् । यद्यपि ओली पक्षले बाहिर भने सूर्य चिन्ह र दलविभाजनको विषयमा आयोगमा छलफल नभएको बताए पनि ओलीले नेकपाको आधिकारिकता  र चुनाव चिन्हको विषयमा छलफल भएको पाइएको हो । 

मंगलबार दलबलका साथ निर्वाचन आयोग पुगेका ओलीले छलफलको प्रारम्भ निर्वाचनको तयारीका विषयमा गरेर अन्त्य भने आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको र चुनाव चिन्ह आफूले नै पाउनुपर्ने बताएका थिए । ओलीले सूर्य चिन्ह दाबी गर्नकै लागि आफूले अहिलेसम्म सबै चुनाव सूर्य चिन्हबाट लडेको पनि बताए । 


'पार्टी एकता हुँदा प्रचण्डजीसँग सहमति गरियो । पार्टी एकतापूर्व म एमाले पार्टीको अध्यक्ष थिएँ त्यो पार्टीको चुनाव चिन्ह पनि सूर्य नै थियो,' प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'अनि निर्वाचन आयोगलाइ पनि थाहा नै छ मैले भन्‍नुपर्ने कुरै होइन । पार्टी एकता पूर्व उहाँ (पुष्पकमल दाहाल) को चुनाव चिन्ह हँसिया हथौडा थियो । अनि उहाँले कहिल्यै सूर्य चिन्हबाट चुनाव लड्नु भएन । अब भन्‍नुस् सूर्य चिन्ह कस्को रहेछ ?' ओलीले दाहाल-नेपाल समूहले कुनै पनि हिसाबले सूर्य चिन्ह र नेकपाको आधिकारिकता दाबी गर्न नमिल्ने बताएका थिए । 

मंगलबार साँढे ११ बजे आसपास निर्वाचन आयोग पुगेका ओलीको साथमा नेकपाका महासचिव विष्णु पौडेल, ईश्‍वर पोखेरेल, सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री लीला श्रेष्ठलगायत पनि सँगै गएका थिए । प्रधानमन्त्रीले आयोगलाई निर्णय गर्दा विवेक पुर्‍याउन पनि भने । 'आयोगले निर्णय गर्दा विवेक पुर्‍याउँछ भन्‍ने मलाई विश्‍वास छ' ओलीले भने ।   

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दल विभाजनको विषय आजको छलफलको विषय नभएकोले छलफल नभएको दाबी गरे । 'आगामी २०७८ बैशाख १७  र २७ गते हुने घोषणाको सन्दर्भमा निर्वाचन अयोागले गरेको तयारीका सन्दर्ममा जानकारी लिन प्रधानमन्त्रीज्यू निर्वाचन आयोग आउनुभएको हो,' थापाले भने, 'प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीका सन्दर्भमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभयो । प्रधानमन्त्रीज्यूले आयोगको तयारी सन्तोषजनक रहेकोले धन्यावद दिनुभयो । आजको छलफलको विषय निर्वाचनको तयारीको विषयमा भएकोले दल विभाजनको विषयमा कुरा भएन ।'

दलको विवादको सन्दर्भमा माघ ११ गते आयोगले निर्णय गरिसकेको र माघ २० गते दल आधिकारिकताको दाबी गरेर पत्र प्राप्त भएको विषयमा जानकारी गराएको थापाले बताए ।  


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x