राजनीति

देउवालाई 'काउन्टर' दिन पौडेल पक्षले बोलायो जिल्ला सभापति भेला

सन्तोष अधिकारी |
फागुन २, २०७७ आइतबार १०:३९ बजे

काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति आउन पाँच दिन मात्रै बाँकी रहँदा महाधिवेशनको कुनै छनक देखिएको छैन । नियमित कार्यकाल सकिएपछि विधानलाई टेकेर एकवर्षे कार्यकाल लम्ब्याएका सभापति शेरबहादुर देउवा पुन: ६ महिना कार्यकाल लम्ब्याउने रणनीतिमा छन् । तोकिएको समयमा महाधिवेशन नहुने पक्का भइसक्दासमेत देउवाले पार्टीभित्र कुनै छलफल चलाएनन्। थप भएको एक वर्षमा कोभिड-१९ लाई कारण देखाउँदै क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजनको काम तोकिएको समयमा नहुने पक्का भएको छ । 

महाधिवेशन नै अनिश्‍चित बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले  जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरेको छ । वरिष्ठ नेता पौडेलले सभापति देउवामाथि कार्यसमितिको बैठकसमेत नबोलाएर टार्न खोजिरहेको आरोप लगाए । ‘सभापतिले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पनि आनाकानी गरेर टार्न खोजिरहेका छन्,’ पौडेलले इकागजसँग भने, ‘केन्द्रीय कार्यसमितिको बैठक बोलाउ भन्दा पनि नमान्‍ने भएपछि मैले पार्टी कार्यालयमै जिल्ला सभापतिहरूको भेला डाक्देको छु ।’


पौडेलले जिल्ला सभापतिहरूको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा फागुन ५ मा हुने बताए । सभापति देउवालाई महाधिवेशनलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन भने पनि देउवाले बेवास्ता गरेपछि सभापतिहरूको भेला बोलाउन बाध्य भएको पौडेलले बताए । 

 यसअघि पौडेलसहितका नेताहरूले पार्टी महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्‍जमा छलफल गरी जिल्ला सभापति भेला गर्ने निर्णय गरेको हो । ‘महामन्त्रीको निवासमा छलफल हुँदा जिल्ला सभापतिहरूको भेला डाक्नै पर्ने निर्णय भयो,’ पौडेल समूहका एक केन्द्रीय सदस्यले भने, ‘सभापति एकोहोरो पेलेर जाने, पार्टी ध्वस्त बनाउने खेलमा लागेकोले उहाँलाई सच्याउन, सुझाव दिन सभापतिको भेला बोलाइएको हो ।’  

देउवाले आफ्ना समकक्षी र दलभित्रका नेतासँग भन्दा बढी कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको भर पर्दा दल नै असहजमा पर्ने अवस्था रहेको पौडेल  निकट एक  नेताले बताए । त्यही विषय जानकारी गराउन नेताहरूसँग पौडेलले छलफल गर्न लागेको हुनसक्ने उनले बताए । 

फागुन ५ को भेलामा जिल्ला सभापतिहरूसँगै जिल्लातहका नेताहरू पनि सहभागी हुने छन् । छलफलमा पौडेल समूहका केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्यहरू, पदाधिकारीहरूको सहभागिता रहनेछ । 

‘सभापतिले राम्रो संकेत देखाइरहनु भएको छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘लोकतान्त्रिक पार्टीलाई अलोकतान्त्रिक बनाउने । पार्टीमा रहेकाहरुलाई बेवास्ता गरेर एकलौटी निर्णय गर्ने गरिरहनु भएको छ । अहिले पनि पार्टीमा कुनै छलफल नै नगरी एउटा विज्ञप्तीको खोस्टो जारी गरेर कार्यकाल थप्‍ने उहाँको तयारी देखिन्छ ।’

सभापति देउवाले विधान अनुसार फागुन १९ गतेपछि ६ महिना कार्यकाल लम्ब्याउन सक्नेछन् । तर यसले तत्कालको समस्या टर्ला, दीर्घकालमा दललाई ठूलाे असर गर्नेछ ।   
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x