राजनीति

पुनःस्थापित संसद्का दुई बैठक :

वानेश्‍वरमा ‘प्रधानमन्त्री झुल्किनु’को अर्थ

आकाश क्षेत्री |
फागुन २६, २०७७ बुधबार १७:३६ बजे

काठमाडौँ : पुनःस्थापित प्रतिनिधि सभाको दोस्रो बैठक बुधबार बस्यो । यसअघि पहिलो बैठक आइतबार (२३ गते) बसेको थियो । यी दुवै बैठकमा एउटा समानता देखियो । त्यो हो, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति  ।

नयाँ वानेश्‍वरस्थित संघीय संसद् भवनमा प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै आउँछन् । र, उनी बैठक सुरु नहुँदै भवनबाट बाहिरिन्छन् । संघीय संसद् सचिवालयले पुनःस्थापित प्रतिनिधि सभा दोस्रो बैठक दिउँसो १ बजे बैठक बोलाएको थियो । तर, प्रधानमन्त्री ओली १२ बजेर ४७ मिनेटमै संसद् भवन छिरिसकेका थिए । जतिबेला फाट्ट-फुट्ट सांसदहरू बैठकस्थल प्रवेश गर्दै थिए ।
 
प्रधानमन्त्री मात्र होइन, सरकारका गृहमन्त्री रामबहादुर थापा पनि तोकिएको समयभन्दा चाँडै संसद् भवन पुगिसकेका थिए । उनी १२ बजेर ४७ मिनेटमा संसद्को बैठक हलभित्र छिरे । प्रतिनिधि सभाको बैठक भने पूर्वनिर्धारित समयभन्दा २० मिनेट ढिला मात्रै सुरु भयो ।


तर, बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिसकेका थिए । उनी १ बजेर ५ मिनेटमा संसद्‍बाट बाहिरिएका हुन् । बुधबार मात्रै होइन, आइतबार पनि प्रधानमन्त्री यसरी बैठक सुरु हुनुभन्दा अगाडि हलभित्र पसेका थिए । अनि, बैठक सुरु हुनुअघि नै बाहिरिएका थिए ।
   
अर्को अचम्मको कुरा के छ भने यसरी संसद् भवनभित्र पसेका प्रधानमन्त्री सभा हलसम्म पनि प्रवेश नगरेर फर्किएका थिए । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, बुधबार प्रधानमन्त्री ओली बाहिरै बसेर बाहिरबाटै नै फर्किएका हुन् । 

सभामा प्रधानमन्त्री उपस्थित हुँदा यसको गरिमा बढेको मानिन्छ । तर, प्रधानमन्त्री चलिरहेको सभामा बस्‍न मानिरहेका छैनन् । यसरी प्रधानमन्त्री संसद् भवनभित्र प्रवेश गर्ने र हलसम्म पनि नपुग्‍नु अर्थपूर्ण रहने संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापा बताउँछन् । 

‘हामीले यसलाई दुईवटा तरिकाबाट हेर्नुपर्छ । पहिलो, प्रधानमन्त्री हाउसको विजनेशलाई हेर्न आउनुभएको होला, दोस्रो आफू पक्षका सांसदसँग सल्लाह गर्न आउनुभएको होला,’ पूर्वसचिव थापा भन्छन्, ‘तर आएर हाउसमा एकछिन बसिदिएको भए यो संस्थाको गरिमा बढ्ने थियो । तर, उहाँले यहाँ एकछिन पनि बस्‍न नखोजेको देखियो ।’
 
प्रधानमन्त्री ओली एकातिर आफैले अनुपयुक्त छ भनी विघटन गरेको सभामा प्रवेश गर्न चाहिरहेका छैनन् । अर्कोतिर पुनःस्‍थापनापछि चलाइएको दुइवटै बैठकमा बस्‍न खोजिरहेका छैनन् । 

प्रतिनिधि सभा पुनःस्थापनापछि राजनीतिक समीकरण संसद्‍मा केन्द्रित भएको छ । यसअर्थमा अबको राजनीतिलाई दिशानिर्देश गर्ने शक्ति सांसदको हातमा आइपुगेको छ । संसद्को विजनेशसँगै सांसदलाई आफ्नो शक्ति देखाउन पनि ओली लगातार वानेश्‍वर पुगिरहेका छन् ।

सरकार प्रमुखका रूपमा ओलीले धेरैवटा छवि बनाएका छन् । प्रधानमन्त्री ओलीको छवि स्पष्ट रूपमा संसद् विरोधी बनेको देखिन्छ । यो राजनीतिक इतिहासमै नमेटिने छवि हो ।

ओली प्रधानमन्त्री भएको तीन वर्ष कटिसकेको छ । यो अवधिमा उनी सकेसम्म संसद्‍बाट भाग्‍न खोजे । संसदीय समितिमा एकपटक पनि उपस्थित भएका छैनन् उनी । नबोलाएर होइन, समितिले पटकपटक बोलाउँदा पनि ओलीले आउँदिन भनेन् । तर, कहिल्यै आएनन् ।

यतिमात्र होइन, प्रधानमन्त्री ओलीले ०७७ असार १८ मा प्रतिनिधि सभाको चालू अधिवेशन हठात् अन्त्य गरिदिए । यो कदम चाल्दा उनले सभामुख अग्‍नि सापकोटासँग कुनै परामर्श गर्नसमेत जरुरी ठानेनन् । गत पुस ५ गते ओलीले प्रतिनिधि सभानै विघटन गरिदिए । सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विघटन बदर गरिदियो । संसद् पुनःस्‍थापनापछि प्रधानमन्त्री संसद् भवन त पुगिरहेका छन् तर हलमा प्रवेश गरिरहेका छैनन् । 


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x