राजनीति

प्रदेश १ मा संसदीय दलको नेताविहीन माओवादी केन्द्र

संसदीय दलका नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

लीलावल्लभ घिमिरे |
फागुन २९, २०७७ शनिबार १२:४८ बजे

विराटनगर : नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता टंक आङबुहाङ नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएसंगै माओवादी केन्द्र प्रदेश संसदीय दल नेताविहीन भएको छ । आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनित भएसंगै माओवादी केन्‍द्र दलको नेताविहीन भएको हो । माओवादी छोडेर एमालेमा लागेका आङबुहाङको सांसद पद समेत जाने भएको छ । आङबुहाङ एमाले ओली पक्षमा गएसंगै प्रदेश सभामा माओवादी केन्द्रको १५ सिट भएको छ । 

यता माओवादी केन्‍द्रले भने छिटै दलको नेता छान्‍ने जनाएको छ । ‘चाडै संसदीय दलको नेता छान्छौ,’ माओवादी केन्द्रका निर्वतनमान मन्त्री इन्द्रवहादुर आङबोले भने, ‘बस्न लागेको केन्द्रीय समितिको बैठकले समेत ठोस निर्णय गर्ने छ ।’ 


ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङबुहाङ २०५६ सालबाट माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । सानै उमेरमा राजनीतिमा लागेका आङबुहाङ माओवादी केन्द्रको सचिवालय सदस्य हुन् । तर उनले पछिल्लो राजनितिक घटना क्रमसंगै लामो समयसम्म योगदान गरेको पार्टी परित्याग गरेका हुन् । 

‘अब एमाले र माओवादीमा कुनै फरक देखिएन । त्यसैले जहाँ बस्दा पनि फरक परेन,’ इकागजसंग आङबुहाङले भने, ‘नेपालमा अहिलेकै अवस्थामा समाजवादी क्रान्ति सफल हुने सम्भवना कतैबाट रहेन ।’ 

प्रदेश १ का अन्य जिल्लाको तुलनमा ताप्लेजुङ जिल्लामा एमाले ओली पक्ष कमजोर छ । नेकपा एक हुँदा ताप्लेजुङका नेता योगेश भट्टराई केन्द्रमा निकै प्रभावशाली रहेका र दुवै जनाको उमेर समूह पनि एउटै भएका कारण आङबुहाङले माओवादी वा दाहाल–नेपाल भन्दा आफूलाई ओली समूहमा नै सुरक्षित ठाने । 

त्यसका अलवा पाँचथरबाट प्रदेश सभामा निर्वाचित इन्द्रबहादुर आङबोको स्थानमा आफू सिनियर भएको र प्रदेशको मन्त्रिमण्डलमा आफ्नो नेतृत्वमा जानु पर्ने मनसाय आङबुहाङको थियो । तर आङबो प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखि नै आङबुहाङ आफूमाथि अन्याय हुँदै आएको बताउँदै आएका थिए । पार्टीले उचित मुल्याङकन गर्न नसकेको भन्दै आङबुहाङले यस्तो निर्णय गरेका हुन् । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आङबोले नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि राईले आङबोलाई मन्त्री पदबाट पुस ११ गते बरखास्त गरेका थिए । त्यसपछि ओली पक्षले आङबुहाङलाई मन्त्री बनाउने तयारी गरेको थियो । 

दल परित्याग गरेपछि आङबुहाङको सांसद पद त जान्छ तर उनी ६ महिनाका लागि मन्त्री बन्ने स्रोतले बतायो । ‘मन्त्री बन्ने बारे मैले सोचेको छैन,’ आङबुहाङले भने, ‘सांसद पद त त्यागेर जाँदैछु । राजनीति पद, प्रतिष्ठा र पैसाका लागि गरेको हैन ।’


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x