राजनीति

अस्तित्व संकटमा माधव नेपाल गुट, नेताहरूको मौन व्रत !

विष्णु विश्‍वकर्मा |
चैत ९, २०७७ सोमबार १७:५५ बजे

काठमाडौँ : आइतबार बिहानैदेखि नेतृ रामकुमारी झाँक्रीलाई फोन सम्पर्क गर्ने प्रयास गर्‍र्याै । सुरु सुरुमा उनको फोन उठेन । केही समयपछि उनको फोन रिसिभ त भयो । तर कुनै गम्भीर बैठकमा भएको जस्तो पृष्ठभूमिको आवाज मात्रै सुनियो । उनको बोली फुटेन । फोन काटियो ।

त्यसको केही समयपछि मोबाइलबाट सम्पर्क गर्दा फोन उठ्यो । छोटो संवादमा ‘कुरा गरौँ’ भन्दा उनी पन्छिइन् । लगत्तै फोन काटियो । त्यसपछि सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन उठेन । सोमबार पनि बिहानै फोन गर्दा उनको फोन त उठ्यो । तर मिडियासँग कुरा गर्न उनी हच्किइन् । 


एमाले नेतृहरुमा पत्रकारहरुसँग सबैभन्दा धेरै घुलमिल भएकी नेतृ झाँक्री नै हुन् । उनका हरेक जसो भाषण मिडियाका हेडलाइन बन्छन् । उनै नेतृ पछिल्लो तीन दिन यता मौन व्रतमा छिन् । बोल्न मानेकी छैनन् । अन्तर्वार्ताका लागि उनी झनै तयार देखिएकी छैनन् । 

शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय समिति बैठकबाट माधव नेपालसहितका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । स्पष्टीकरण चित्त नबुझे कारबाही गर्ने स्पष्ट धम्की ओलीको छ । स्पष्टीकरण सोधिने नेताहरुको सूचीमा नेतृ रामकुमारी झाँक्री र अष्टलक्ष्मी शाक्य पनि थिइन् । पछि हटाइयो । 

बैठकको निर्णयबारे ओली समूहकी नेतृ बिन्दा पाण्डेले इकागजसँग भनेकी थिइन्, ‘सुरुमा स्पष्टीकरण सोध्ने हो । सायद उहाँहरुले बुझ्नुहुन्छ होला । एकतामा आउनुहुन्छ होला । त्यतिले पनि मान्नु भएन भने कारवाही हुन्छ । हामीलाई विश्वास छ, कारवाही गर्नुपर्दैन् । त्यतिले पनि भएन भने त हा.....हो ।’

ओली समूहको त्यही निर्णयबाट तर्सिएर हो वा अरु कारणले । झाँक्री अहिले मौनव्रतमा छिन् । मिडियासँग बोल्न तयार देखिएकी छैनन् । मिडियामा हेडलाइन बन्ने उनका प्रतिक्रिया पनि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा आएका छैनन् । 

ओली समूह आक्रामक रुपमा हिजो भएभरका आरोप र गाली गर्ने एमालेकै नेताहरुलाई छानी छानी ‘भाटे कारबाही’ तहकै सजाय दिने मनस्थितिमा छ । त्यसको सुरुवात अरुबाट होइन, स्वयं माधव नेपालबाट गरिएको छ ।

नामै किटान गरेर माधव नेपालसहितका चार नेतालाई स्पष्टीकरण सोध्ने, चित्तबुझ्दो नभए कारबाही गर्ने निर्णय ओली समूहको छ । सोमबारसम्म ओलीले स्पष्टीकरण पत्र माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका घर घरमा पठाइसकेका छन् । 

ओलीको यही डरलाग्दो निर्णयबारे हामीले प्रतिक्रिया लिन झाँक्रीपछि पालैपालो अरु नेतालाई पनि सम्पर्क गर्ने प्रयास गर्‍यौ । भीम रावललाई सम्पर्क गर्दा उनको फोन उठ्यो । तर कुराकानी गर्न मानेनन् । बोल्न सहज नभएको भन्दै उनी पन्छिए ।

त्यसपछि हामीले ओलीले कारबाही गर्ने सूचीमा रहेका नेता सुरेन्द्र पाण्डेसँग सम्पर्क गर्‍यौ । लामो समय व्यस्त उनको फोन बारम्बार प्रयास गरेपछि उठ्यो । पछि कुरा गर्ने वचन दिए । ३० मिनेटपछि फेरि सम्पर्क गर्‍यौ । ‘अहिले नबोलौ’ भन्दै उनी पन्छिए । घनश्याम भुसाललाई पटक पटक सम्पर्क गर्दा पनि उनको फोन उठेन । माधवकुमार नेपालले पनि यसबारेमा अहिल्यै के बोल्ने ? भनेर प्रतिक्रिया दिएका छैनन् । 

केही समयअघिसम्म दैनिक मिडियाका हेडलाइन बनिरहने माधव नेपाल गुटका नेताहरु यतिबेला मौन व्रतमा छन् । अहिले नबोलौ भन्ने उनीहरु के बोल्ने ? भन्ने विषयमा ठूलो अन्यौलमा छन् । संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिएका माधव नेपाल गुटका नेताहरुले नैतिक रुपमा ओलीलाई हराएपनि राजनीतिक रुपमा ठूलो संकटसँग जुधिरहेका छन् । 

एमाले छाडौ पहिचान गुम्ने डर । जनताको मन मनमा बसेको एमाले भनेर गर्व गर्दै वर्षौ राजनीति गरेको पार्टी छाड्न माधव नेपाल गुटका कुनै नेताको मन मान्दैन । पार्टी नछाडौँ, ओलीको ‘कुशासन’लाई कसरी स्वीकार गर्ने ? जसका विरुद्ध उनीहरुले महिनौ सडक संघर्ष गर्नुपर्‍यो । 

नेपाली राजनीतिमा सधै केन्द्रीय पात्र बनिरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सम्बन्ध सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएपछि माधव नेपाल गुटका नेताहरुको ज्वरो थप बढेको हो । हिजो दाहाल र नेपाल मिल्दा ओली कमजोर मात्रै बनेका थिएनन् । लगभग सत्ता र शक्ति दुवै गुमाइसकेका थिए ।फैसलाले एमालेले पुनर्जीवन पाएपछि ओली फेरि शक्तिशाली बनेका हुन् ।

राजनीतिक संघर्षमा सर्वोच्चको दोस्रो फैसला ओलीका लागि उपहार सावित भयो । पटक पटक अध्यादेश ल्याएर पनि नेकपा फुटाउन नसकेका बेला सर्वोच्चले नै एमाले र माओवादी केन्द्र ब्युताईदियो । 

राजनीतिक एजेन्डाका रुपमा दाहालसँग समीकरण मिलाएका नेपाललाई यतिबेला अदालत र ओलीले गहिरो सुरुङमा फसाएका छन् । उसै पनि राजनीतिक स्वभावका हिसाबले सहयोगी नेताका रुपमा चिनिएका नेता नेपाल दाउपेच त्यति रुचाउँदैनन् । 

हिजो नेकपामा हुँदा पनि ओली र दाहाल मिल्दा नेपाल पटक पटक अपमानित भएका थिए । दाहालकै साथ लिएर ओलीले माधव नेपाललाई अपमान हुने खालका अभिव्यक्ति दिन्थे । उनलाई पेलेरै निर्णय गर्थे । एमालेको नवौँ महाधिवेशनमा अध्यक्ष ओलीसँग हारेका नेपाल त्यसयता लगातार सत्ताधारी प्रतिपक्ष बनिरहे । 

ओलीसँग लगातार ‘युद्ध हारेको सिपाही’ जस्तो देखिएका नेपाल यतिबेला जीवनकै सबैभन्दा ठूलो अस्तित्व संकटमा फसेका छन् । त्यही भएर हुनुपर्छ अहिले उनी नेताहरुलाई ‘मिडियासँग बोल्न संयमित हुनु’ भन्ने निर्देशन जारी गर्न बाध्य छन् ।

झण्डै दुई दशक नेकपा एमालेको नेतृत्व पंक्तिमा बसेर राजनीति गरेका नेपाल आज एमालेबाटै लखेटिने अवस्थामा पुगेका छन् । यसका पछाडि ओलीको हात होला । तर इमान र नैतिकतालाई उत्तिकै प्राथमिकतामा राखेर राजनीति गर्न रुचाउने नेपाल सजिलै राजनीतिक घर छाड्न सक्ने अवस्थामा छैनन् । 

यस्तो बेलामा माधव नेपालले कस्तो निर्णय गर्लान् ? फेरि उनले गर्ने निर्णय माधव नेपालभन्दा ओज र भरोसा बोकेका नेता कार्यकर्ताका लागि पनि मनखाने हुनुपर्छ । नभए अरु नेता कार्यकर्ताले पनि रातारात सुटुक्क ओली गुटमा छिरेका बौद्धिक युवा नेता कृष्णभक्त पोखरेलकै बाटो समात्लान् भन्ने डर नेपाललाई छ । 

जबकि सत्ता, शक्ति र पैसा खर्चेर भएपनि एमालेका सबै नेतालाई आफ्नो बनाएर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग ‘पौठेजोरी’ खोज्ने ओलीको रणनीतिसँग माधव नेपाल राम्ररी परिचित छन् । 


Author

थप समाचार
x