राजनीति

लमजुङमा निर्वाचन तयारी पूरा, निर्वाचन सामग्रीसहित कर्मचारी खटिए

इकागज |
बैशाख २७, २०७९ मंगलबार १६:४७ बजे

लमजुङ – स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेकाे मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  


निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन/तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ ।

एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।
 


Author

थप समाचार
x