कोशी

विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित

बाबुराम भण्डारी |
जेठ २१, २०७९ शनिबार १६:३७ बजे

विराटनगर । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा मेयर पद जितेको नेपाली कांग्रेस र उसैसँग गठबन्धन गरेको जसपा–राप्रपाका उम्मेदवार पराजित भएका छन् ।

कार्यपालिकामा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर कार्यपालिकाको महिला सदस्यमा नेकपा एमालेकी कमला श्रेष्ठले ५४, खुश्वु विश्वकर्माले ५२, तारा कुमारी रायले ५३, सम्तली देवी विश्वासले ५५ र सरिता घिमिरे (नेपाल) ले ५३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।


त्यसैगरी दलित तथा अल्पसंख्यक तर्फ भने स्वतन्त्रका ओमप्रकाश कुमार साहले ५५, सन्जीवकुमार साहले ५२ र एमालेका दिपक कुमार कर्णले ५३ मत प्राप्त गरी विजयी भएका हुन् । विराटनगर महानगरपालिकामा कुल ४३ सिट मात्रै रहेको एमालेले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कार्यपालिकामा भने बहुमत कायम गरेको छ ।

२९ सदस्यीय कार्यपालिकामा एमालेबाट एक उपमेयर र ९ वडाध्यक्ष मात्रै निर्वाचित थिए । शनिबार सम्पन्न निर्वाचनबाट थप ६ सदस्य जित्दै कार्यपालिकामा एक्लै १६ सदस्यको बहुमत पुर्‍याएको हो । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर र ६ वडाध्यक्षसहित ४० जना नगर सभा सदस्य जितेको छ ।

जनता समाजवादीले दुई वडाध्यक्षसहित १० जना, स्वतन्त्रले एक वडाध्यक्षसहित ३ र राप्रपाका १ वडाध्यक्ष निर्वाचित भएका थिए । नगर कार्यपालिका निर्वाचनमा कांग्रेस–जसपा–राप्रपा गरी ५१ जनाको बहुमत देखाइएकोले सोही गठबन्धनबाट कार्यपालिका सदस्यहरु निर्वाचित हुने अनुमान थियो ।

तर सत्ता गठबन्धनभित्रैबाट फ्लोर क्रस भएपछि ४६ मतमा सिमित रहेको एमाले–स्वतन्त्र गठबन्धनका सवै उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । ४६ मत मात्रै भएको एमाले–स्वतन्त्र गठबन्धनका सवै उम्मेदवारले ५२ मत कटाउँदै अधिकतम् ५५ मतसम्म प्राप्त गरेका छन् । कांग्रेस–जसपा गठबन्धन पराजित भएसँगै विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा मेयर नागेश कोइराला अल्पमतमा देखिएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x