कोशी

विराटनगरमा संक्रामक रोग अस्पताल बन्यो, तर बनेन सञ्चालन कार्यविधि

बाबुराम भण्डारी |
चैत २२, २०७९ बुधबार १३:५६ बजे

विराटनगर । तीन वर्षअघि कोभिड–१९ महामारी सुरु हुँदा कोशी प्रदेश सरकारले निर्माण गरेको कोभिड–१९ उपचार केन्द्र अहिले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरित भएको छ । तर त्यसको सञ्चालनको मोडल भने अहिले पनि टुंगिन सकेको छैन ।

खण्डहर बनेको नेशनल ट्रेडिङ लिमिटेडको भवन र अन्य संरचनालाई मर्मत सम्भार गरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ चैत २१ गते प्रदेश सरकारको स्वामित्वको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आएको घोषणा गरेका थिए । त्यसपछि त्यहाँ कोभिड–१९ बाट संक्रमण भएका गम्भीर प्रकृतिका बिरामीहरूको उपचार गरिएको थियो ।


करोडौंको लगानी भएको उक्त स्वास्थ्य संरचनालाई कोभिड संक्रमण शून्यमा झरेपछि संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गर्ने निर्णय गरिएको थियो । तर सरकारले संक्रामक रोग उपचार केन्द्रको पूर्णकालीन सेवा सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधि भने अझै बनाउन सकेको छैन ।

तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवले कोभिड–१९ महामारीको जोखिम रोकिएको भन्दै २०७९ वैशाख ६ गते कोभिड–१९ उपचार केन्द्रलाई संक्रामक रोग तथा सघन उपचार केन्द्रमा परिणत गरिएको घोषणा गरी सेवा शुभारम्भ गरेका थिए ।

विराटनगर–१४ स्थित उपचार केन्द्रमा भेन्टिलेटरसहितको एचडियू सेवा र अन्य स्वास्थ्य संरचनाहरू सञ्चालनकै अवस्थामा रहेका छन् । हाल एक जना मेडिकल अधिकृत, ७ जना स्टाफ नर्स र कार्यालय सहयोगी १५ जना कार्यरत छन् । त्यसका साथै प्रशासनतर्फ थप तीन जना कर्मचारी पनि सोही उपचार केन्द्रमा कार्यरत रहेको जनाइएको छ । प्रशासनबाहेकका सबै स्वास्थ्य जनशक्ति करार सेवाका हुन् ।

सघन उपचार केन्द्रलाई पूर्णरुपमा सञ्चालन गर्न र जनशक्ति व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउन नसक्दा कार्यरत जनशक्ति पनि अन्तैतिर खटाइएका छन् । अस्पतालको दरबन्दी संख्या पनि अन्याेल हुँदा विभाग अनुसारको सेवाप्रवाह हुन सकेको छैन ।

कोभिडजन्य केसहरूको समेत पहिचान गर्न भन्दै हाल स्वास्थ्य सेवा केन्द्र अन्तर्गत ज्वरो जाँच गर्ने क्लिनिक र अन्य बिरामीहरूका लागि चेकजाँच र सरकारले उपलब्ध गराउने नि:शुल्क औषधि वितरणको काम मात्रै भइरहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । ‘बिरामीहरूलाई नि:शुल्क जाँच, एक्स–रे, इसीजी र प्रयोगशालाका अन्य परीक्षणपनि नि:शुल्क गर्दै आएका छौं’ उनले भने, ‘हामीसँग भएका चिकित्सक कर्मचारी र उपकरणहरूबाटै फिभर क्लिनिक सञ्चालन गरिएको छ, सघन उपचार केन्द्रका रुपमा सञ्चालनका लागि आवश्यक पूर्वाधार संरचना पनि तयार नै छ, तर पनि अस्थायी संरचनाका रुपमा सञ्चालन गरिरहनु परेको छ ।’

छिमेकी मुलुक भारतमा फेरी कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न थालेको छ । तर प्रदेश सरकारको स्तरबाट सञ्चालित यो उपचार केन्द्रमा कोभिड संक्रमितको उपचारका लागि आवश्यक तयारी पनि अघि बढ्न सकेको छैन । 

आइसीयु र एचडियूमा कार्यरत चारजना अनुभवी नर्सहरू र चिकित्सकलाई पनि स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गतका अन्य जिल्ला अस्पतालहरूमा खटाएको पाइएको छ । कोभिडको थप संक्रमण बढ्न थालेका कारण संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि र निर्देशिकाहरू छिटो बनेर जनशक्ति व्यवस्थापन गर्नुपर्ने राजवंशीले बताए । कोभिड–१९ को महामारीलाई ध्यान दिएर जनशक्ति र उनीहरूको सेवा सुविधाको व्यवस्थापन गर्दै लैजानुपर्ने उनले बताए ।

यता कोशी प्रदेश सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले कार्यविधिलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद‌्मा लैजानेबारे छलफल भइरहेको बताएकी छन् । उनले कोभिड–१९ को संक्रमण जोखिमलाई समेत ध्यान दिएर मन्त्रालय अन्तरगतका सबै जिल्लाका स्वास्थ्य सेवा प्रदान गर्ने कार्यालयहरूका कार्यालय प्रमुखहरूको बैठक बोलाइएको जानकारी दिइन् ।

‘प्रदेशभरको स्वास्थ्य क्षेत्रको सम्पूर्ण रिपोर्टिङका लागि सम्बन्धित कार्यालयहरूसँग बैठक बोलाइसकेको छु’ मन्त्री लिम्बुले भनिन्, ‘सघन उपचार केन्द्रको सञ्चालनमा देखिएका कठिनाईबारे पनि छलफल गर्दैछु, कार्यविधिलाई चाँडो क्याबिनेटमा लैजाने तयारी भइरहेको छ ।’

सघन उपचार केन्द्रमा आवश्यक पहुँच सडक र पूर्वाधारहरू पनि निर्माण भइसकेका छन् । हाल ९६ बेड चालु अवस्थामा छन् । जसमा आइसीयू २१ बेड, एचडीयू ४७ बेड र जनरल बेड २८ वटा तयारी अवस्थामा रहेको राजवंशीले बताए । त्यसका साथै दैनिक झण्डै तीन सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट चालु अवस्थामा रहेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x