कोशी

एमाले काेशी : रातभर मतदान, आज मतगणना

इकागज |
असोज १५, २०८० सोमबार ७:१६ बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष, सचिव र उपसचिवसहितका पदाधिकारी, जिल्लागत सदस्य र समावेशीतर्फको नेतृत्व चयन गर्न आइतबार राती १० बजेबाट सुरु भएको मतदान आज बिहान ५ः३० बजे सकिएको छ ।

निर्वाचन कमिटीको कार्यालयका अनुसार कुल ९९७ प्रतिनिधिहरूमा ९७ दशमलव ९९ प्रतिशत अर्थात ९७७ जनाले मतदान गरेका छन् । ओखलढुंगा, तेह्रथुम, उदयपुर र मोरङमा शत प्रतिशत मत खसेको छ । 


जिल्लागत भूगोलतर्फ ९४१ मत मध्ये ९३६ मत खसेको जनाइएको छ । त्यसैगरी जनसंगठनतर्फ ५६ मत मध्ये ५१ मत खसेको निर्वाचन कमिटीले जनाएको छ ।
मतदानमा उत्साहपूर्ण सहभागिता रहेको आकांक्षी उम्मेद्धवारहरुले बताए । भूगोलतर्फ सोलुखुम्बुमा १६ मा १५, खोटाङमा ५६ मा ५४, पाँचथरमा ३० मा २९, इलाममा ७७ मा ७२, संखुवासभामा ३९ मा ३८ मत खसेको हो ।

त्यसैगरी भोजपुरमा २७ मा २६, सुनसरीमा ९८ मा ९७, धनकुटामा ७३ मा ७१ मत,, झापामा १८५ मा १७७ मत खसेको जनाइएको छ ।

ओखलढुंगामा ४२ को ४२, ताप्लेजुङमा ५१ मा ५१, तेह्रथुममा ४० को ४०, उदयपुरमा २६ को ३६ मत खसेको छ । मोरङमा १७८ को १७८ न मत खसेको जनाइएको छ ।

मतदान सकिएका कारण सोमबार अपरान्हदेखि नै मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन कमिटीका संयोजक बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिए । टाढाबाट प्रतिनिधिहरु आइपुगेका कारण उनीहरुलाई आइतबार बेलुकासम्मको दुई छाक खाना आयोजक कमिटीले व्यवस्था गरेको थियो । सोमबारदेखि प्रतिनिधिहरुले आफ्नो खाना र बासको व्यवस्था आफैं गर्नुपर्ने जनाइएको छ ।

एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल आमनेसामने बनेका थिए । उनीहरूले नै मतदान गर्दै मतदान कार्यको प्रारम्भ गरेका थिए । 

एमाले कोशीको सचिवमा पनि खतिवडा र ढकालको समूहगत प्रतिष्पर्धा भएको छ । सचिव पदमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा तथा उपसचिवमा झापाकी जलबर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच कडा प्रतिष्पर्धा भएको हो । 

यता प्रतिनिधिहरूले आइतबार साँझ छिटो मतदान सुरु गर्न नेतृत्वविरुद्ध नाराबाजी गर्नु परेको थियो । मतदानका लागि एउटै रंगको तीन वटा मतपत्र व्यवस्था गरिएको थियो । अध्यक्षसहित पदाधिकारीको एउटा मतपत्र, खुल्ला सदस्य र समावेशी सदस्यको अलग–अलग मतपत्र व्यवस्था गरिएको निर्वाचन कमिटीले जनाएको छ । 
निर्वाचन कमिटीका निर्वाचनका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न अधिकतम १५ मिनेटसम्म लागेको थियो । 

सदस्यतर्फ झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, धनकुटा र उदयपुर जिल्लाको सदस्यमा चुनाव भएको हो । चुनाव हुन लागेका जिल्लामा कुल ११६ पदका लागि २५४ जना भिडेका थिए ।

त्यसैगरी समावेशीतर्फ अपाङ्ग, मुस्लिम, आदिवासी खुल्ला, जनजाति खुल्ला सदस्य गरी ९ जना प्रतिष्पर्धामा उत्रिएका थिए । उम्मेदवारहरूको अन्तिम नामावली अनुसार समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन् ।

कोशी प्रदेशका १४ वटा जिल्लाहरु मध्ये भुगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने आइतबार साँझसम्म सबै पदमा सर्वसम्मत भएको हो ।


Author

थप समाचार
x