कोशी

एमाले कोशी : विनोद ढकाललाई ८२ मतले पराजित गर्दै अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

बाबुराम भण्डारी |
असोज १६, २०८० मंगलबार ७:३० बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित भएका खतिवडाले ५१२ मत प्राप्त गरेको जानकारी दिए । त्यसैगरी पराजित ढकालले ४३० मत पाएको जनाइको छ ।
 

सुरुवाती अग्रतालाई निरन्तरता दिदै खतिवडा एमाले प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यो जीतसँगै खतिवडाले एमाले मोरङको पाचौं जिल्ला अधिवेशनमा ढकालसँग भोगेको हारको बदला पनि लिएका छन् ।


खतिवडा मोरङको भूगोलबाट राजनीति गरेका एमालेका इमानदार र निष्ठावान नेता हुन् । उनी मदन भण्डारीसँग समेत काम गरेका नेता हुन् ।

उनी २०४९ मा साबिक लेटाङ गाबिसको अध्यक्ष भएका थिए । अधिकांश समय पार्टी जीवनमा विताएका उनी २०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । 

९९७ प्रतिनिधि रहेको प्रदेश कमिटीको निर्वाचनमा ९७७ जनाले मतदान गरेका थिए । अध्यक्ष निर्वाचित खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित गरिएका उम्मेदवार हुन् । 

प्रदेश कमिटीको सचिवमा पनि खतिवडा समूहकै राजकुमार भण्डारी फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । उनले ५२४ मत पाउँदा सचिवका प्रत्यासी ढकालकै समूहबाट लडेका शैलेश लामाले ३८१ मत प्राप्त गरेका हुन् ।

दुई उपसचिवका लागि भएको निर्वाचनमा खतिवडा समूहकै जलवर्षा राजवंशीले लोकप्रिय ६२८ मत पाइन् । अर्का उपसचिवमा खतिवडा समूहबाटै देवान राईले ६१० मत प्राप्त गरि निर्वाचित भएका छन् । 

ढकाल समूहबाट राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका उपसचिव पदका उम्मेदवार खेम नेपाली पराजित भए । उनले ३९७ मत पाए ।
प्रदेश कमिटीको उपाध्यक्षमा भने धनकुटाका टिकाराम चेम्जोङको मात्रै उम्मेदवारी परेका कारण उनी सर्वसम्मत भएका छन् ।
निर्वाचन कमिटीका अनुसार प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरु मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरु भने मतदानमा अनुपस्थित भएका थिए ।

ढकाल भन्छन्- 'हार्दा पनि जित्ने लडाइँ हो'

अध्यक्षको पराजित भएका ढकाल अहिले पार्टी केन्द्रीय सदस्य हुन् । उनी पोलिटव्यूरो सदस्य सरहको प्रदेश अध्यक्षका लागि प्रतिष्पर्धामा उत्रिएका थिए । तर, उनी पराजित बने । ढकालले आफू पराजित भएपनि पराजयलाई जितेसरह भएको प्रतिक्रिया दिए । 

मैले अध्यक्षमा निर्वाचित हुनु भएका घनश्याम कम्रेडलाई बधाई दिइसकेको छु' उनले भने- 'यो निर्वाचन भनेको हार्दापनि मैले जित्ने लडाई हो ।'
पार्टी अध्यक्ष ओलीले यस बिचमा लिएका कतिपय राजनीतिक निर्णयहरुमा असन्तुष्टि व्यक्त गरेका कारण उनी ओलीको रुचि बाहिर थिए ।
ढकालको पक्षमा स्थायी कमिटी सदस्य भिम आचार्य र योगेश भट्टराई खुलेका थिए ।

खतिवडालाई अध्यक्ष बनाउन स्थायी कमिटीका शेरधन राई, हिक्मत कुमार कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम लगायतका नेताहरुले सहयोग गरेका थिए ।
ओलीको गृह प्रदेश भएका कारण उनले कोशीमा सकेसम्म निर्वाचन नगरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

ओलीले खतिवडालाई अध्यक्ष सर्वसम्मत गर्न ढकाललाई पोलिटब्युरो सदस्य बनाउने समेत आश्वासन दिएका थिए । तर ढकालले आफू अघि बढिसकेको जनाउ दिएर चुनावी मैदानमा उत्रिएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x