कोशी

सद्भाव भड्काएको आरोपमा श्रीनिवासाचार्य पक्राउ

इकागज |
असोज १६, २०८० मंगलबार २१:५३ बजे

विराटनगर - प्रहरीले हिन्दु धार्मिक गुरु श्रीनिवासाचार्य भनिने दिनेश पण्डितलाई मंगलबार पक्राउ गरेको छ । सुनसरी प्रहरीले उनलाई अपरान्ह ४ बजेतिर सुनसरीको चतराधामस्थित आश्रमबाट नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई पक्राउ गर्नुको यथेष्ट कारण भने प्रहरीले खुलाएको छैन । तर उनीमाथि धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्नता रहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनमा पक्राउ गरेको प्रहरी स्रोतको भनाई छ ।

केही दिन अघि मात्रै श्रीनिवासाचार्यले जनकपुर पुगेर हातमा नाङ्गो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणायुक्त अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्ति सामाजिक सञ्जालमा फैलिएपनि उनको आलोचना समेत भइरहेको छ । त्यसैलाई आधार मानेर माथिको निर्देशन अनुसार सोधपुछका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।


नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्छ भन्दै उनले अभिव्यक्ति दिने गरेका छन् । बाराको सिमरा घर भएका उनले २०७४ चैत २५ बिहानको राती करिब १ बजेतिर विराटनगरमा आफैंलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले अनुसन्धानका क्रममा उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई पाखुरामा गोली हान्न लगाएको खुलेको थियो ।

उनीमाथि हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएकोमा अदालतमा पुनरावेदन गरेका थिए । उनलाई सुरक्षाको कारण देखाएर सुनसरीको झुम्का कारागार राखिएपनि २० दिनपछि रिहा भएका थिए ।

 


Author

थप समाचार
x