कोशी

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु

लीलावल्लभ घिमिरे |
मंसिर ७, २०७७ आइतबार १५:४७ बजे

विराटनगर  ः कोरोनाका कारण शनिबार राती एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।  कोरोना भाइरसको संक्रमणपछि विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत स्वास्थ्यकर्र्मी गौरीशंकर देवको निधन भएको हो ।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ । उनलाई १७ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । ५४ वर्षीया देवविगत ३० वर्षदेखि स्वाथ्य सेवामा कार्यरत थिए । उनी नेपाल स्वास्थ्यकर्मी युनियनका सचिव हुन् । 


यसै गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमित झापाको मेचीनगर–४ बाहुनडाँगीका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतककमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि मंसिर ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणका कारण हाल सम्म प्रदेश १ मा ३ सयको मृत्यु भइसकेको छ । अहिलेसम्म २४ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० हजार ६० जनालाई निको भइसकेको छ । हाल आइसोलेसनमा रहने संक्रमितको संख्या ३ हजार ९ सय ९० जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x