कोशी

कोशीमा नयाँ सरकार गठनको आह्वान

इकागज |
असोज २०, २०८० शनिबार २१:६ बजे

काठमाडौँ- कोशी प्रदेशमा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । 

नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन् । 


शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् । यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा ती दलहरू अहिलेसम्म अनिर्णित छन् ।


Author

थप समाचार
x