कोशी

विराटनगरको माछापुच्छ्रे सहकारीका चार सञ्चालक फरार, ९ करोड बढी हिनामिना

बाबुराम भण्डारी |
असोज २३, २०८० मंगलबार २१:२५ बजे

विराटनगर- विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमलेशकुमार कर्णसहित सञ्चालक समितिका केही सञ्चालकहरू करिब नौ करोड रुपैयाँ हिनामिना गरेर फरार भएका छन् ।

विभिन्न बचत योजना देखाएर मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका र बुढीगंगा गाउँपालिकाका पाँच सय बढि बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार रुपैयाँ बचत रकम हिनामिना गरेर सञ्चालकहरू फरार भएका हुन् ।


पीडित बचतकर्ताहरूले उनीहरूलाई पक्राउ गरी जायजेथा लिलाम गरेर भए पनि बचत फिर्ता गर्न माग गरेका छन् । पीडितहरूले उनीहरूलाई पक्राउ गर्न माग गर्दै बुधबारदेखि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

उनीहरूले सहकारी नियामक निकायले सञ्चालकहरूलाई नै उन्मुक्ति दिएका कारण बचतकर्ताहरूको बचत रकम डुबेको आरोप लगाएका हुन् । जसको परिणाम सहकारीका सञ्चालकहरूले बचत फिर्ता गर्ने मौखिक आश्वासन दिएर फरार भएको उनीहरूले दाबी गरेका छन् ।

माछापुच्छ्रे सहकारीमा देखिएको वित्तीय संकटपछि जिल्ला सहकारी संघ मोरङका सञ्चालक सदस्य उमेश गुरुङको संयोजकत्वमा राष्ट्रिय सहकारी बैंक लिमिटेड विराटनगरका प्रमुख प्रभु पोखरेल, सोही सहकारी संस्थाका दुई शेयर सदस्यहरू उत्तम ढुंगेल र श्यामराज कोइराला सदस्य रहेको छानबिन समितिले  सहकारीमा पाँच सयभन्दा बढी बचकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार रूपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक गरेको थियो । 

छानबिन समितिले गत साउन २८ बाट गरेको छानबिन अनुसार उक्त सहकारीका व्यवस्थापक अमित कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार रुपैयाँ अपचलन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी सहकारीका अध्यक्ष अमलेशकुमार कर्णले १ करोड ४७ लाख ८३ हजार, सञ्चालक समितिका सदस्य प्रभाकर थापाले १ करोड ६० लाख ३३ हजार रुपैयाँ अपचलन गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएपछि अध्यक्ष कर्ण, व्यवस्थापक  कार्की, सञ्चालक समिति सदस्य थापा र अर्की सदस्य राधादेवी लिम्बु  फारार भएको जनाइएको छ । सञ्चालकहरू फरार भएका कारण अहिले सहकारीको कार्यालयमा ताला लागेको छ ।

यसअघि नै समस्याग्रस्त बनेको माछापुच्छ्रे सहकारीमा सञ्चालक समितिका अध्यक्ष कर्णसहितका पदाधिकारीहरू काठमाडौंमा लुकेर बसेपछि सञ्चालक समितिकै केही सदस्यहरूको पहलमा उनीहरूलाई विराटनगर फर्काएर बन्द रहेको सहकारीको कार्यालय खोलिएको थियो । सहकारीका बचतकर्ता र सञ्चालक समितिका अन्य शेयर सदस्यहरूले अध्यक्ष कर्णको घरजग्गा लगायतका सम्पत्ति समेत रोक्का गरेपछि उनीहरू बाध्य भएर विराटनगर फर्किएका थिए ।

सञ्चालकहरू सम्पर्कमा आएपछि प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इटहरीका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले उमेश गुरुङ संयोजकत्वको प्रतिवेदन कार्यान्वयन गर्न सञ्चालक समिति अध्यक्ष कर्णसहित चारैजना सञ्चालकहरूलाई लिखित निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन हुन सकेको छैन । बरु सञ्चालक समिति अध्यक्ष कर्णसहित थापा, लिम्बु र व्यवस्थापक कार्की कार्यालय बन्द गरेर फरार भएका हुन् ।

सहकारी रजिस्ट्रारले सात दिनभित्र सम्बन्धित व्यक्तिहरूलाई हरहिसाब फरफारक गर्न म्याद तोकेर गत  ३१ मै सञ्चालकहरूलाई पत्र पठाएको उनीहरू फरार बनेका हुन् ।

विराटचोकका पीडित भोजराज पोखरेलले सो क्षेत्रबाट मात्रै ६० लाख बढि बचत रकम संकलन गरेर सञ्चालकहरूले हिनामिना गरेको आरोप लगाए । कार्यक्षेत्र नै नरहेको विराटचोकमा स्थानीय बजार प्रतिनिधिहरू मोहन दाहाल र उनकी श्रीमती टिका दाहालले बचतकर्ताहरूबाट बचत संकलन गरेको उनले बताए । ‘हामी पनि व्यापारी भएकोले कुनै दिन काम लाग्छ भनेर बचत गरेका थियौं, अहिले ३ लाख रुपैयाँ डुबेको छ,’ पोखरेलले भने ।

विराटनगर–७ का अनिल ठाकुरले सञ्चालक समितिका सदस्यहरूले पैसा फिर्ता दिन्छु भनेर ढाँट्दै आएको बताए । उनले आफ्नो बचत रकम ३ लाख ५० हजार रुपैयाँ डुबेको बताए ।

केही पीडित बचतकर्ताहरूले भने सहकारी रजिस्ट्रारको कार्यालयले भने बचत रकम हिनामिना गर्ने सञ्चालकहरूमाथि थप कारबाहीको प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । सोही सहकारीमा कार्यरत एक बजार प्रतिनिधिले पनि छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा नियामक निकायले थप कारबाही अघि नबढाएको दाबी गरे ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x