कोशी

कोशीको मुख्यमन्त्री माओवादीलाई, निर्णय नमान्ने भन्दै केदार कार्की समूह छलफलमा

बाबुराम भण्डारी |
असोज २५, २०८० बिहीबार १५:३८ बजे

विराटनगर- कांग्रेसभित्रको आन्तरिक कलहले कोशी प्रदेशको मुख्यमन्त्री माओवादीको हातमा पुग्ने निश्चित भएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्रीका लागि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निष्कर्षमा पुगेको जनाइएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले उपधारा (५) बमोजिमको मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने समय सीमा शुक्रबार अपरान्ह ५ बजेसम्म तोकेका छन् । सत्ता गठबन्धनले ९३ सदस्यीय प्रदेश सभामा टाउको गन्दा ४७ पुग्ने दाबी गर्दै आएको छ । तर, गठबन्धन दलको बैठकले सुरुमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेस नेता डा.शेखर कोइराला पक्षले असहमति जनाउँदा माओवादीको भागमा मुख्यमन्त्री पुगेको हो ।
मंगलबारसम्म नेपाली कांग्रेसकै संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने विषयमा गठबन्धन दलभित्र भएको सहमति बुधबार बेलुकादेखि नै बदलिएर माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्री बनाउने बाटोतिर मोडिएको हो ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतको हवाला दिएर मुख्यमन्त्रीमा पुनः थापाकै दाबेदारी रहने निर्णय कोइराला पक्षका नेता डा.मिनेन्द्र रिजाललाई सुनाएका थिए । देउवाको त्यो निर्णयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समेतले सहमति जनाएका थिए ।

तर, कांग्रेस नेता डा. कोइरालाले भने उक्त निर्णयलाई लिएर असन्तुष्टि जनाएपछि कोइराला निकट भनिएका केदार कार्कीलाई मुख्यमन्त्रीको मैदानमा रोक्न देउवाले माओवादीलाई मुख्यमन्त्री दिन सहमति जनाएका हुन् । सत्ता गठबन्धनको यो निर्णयका कारण कोइराला भने कोशी प्रदेशमा आफूलाई एक्ल्याउने गरी सभापति देउवा अघि बढ्न खोजेको निष्कर्षमा पुगेका छन् । सोही निष्कर्षका आधारमा अहिले काठमाडौंमा केदार कार्कीसहित कांग्रेस केही नेताहरूबीच रणनीति तय गर्न छलफल सुरु भएको जनाइएको छ । स्रोतका अनुसार अनुसार कोशी प्रदेशमा यस्तो अवस्थामा डा.शेखरले आफ्नै ढंगले अघि बढ्ने चेतावनी पार्टी सभापति देउवालाई दिइसकेका छन् ।

यता सत्ता गठबन्धनभित्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय भए पनि माओवादीभित्रै भने आङ्बोको पक्षमा निर्णय भइ नसकेको असन्तुष्ट पक्षले जनाएको छ । कोशीमा मुख्यमन्त्रीको उम्मेदवार माओवादी केन्द्रका आङ्बोलाई बनाउनेतिर माओवादी अध्यक्ष दाहालले कोइराला निकटका एक नेतालाई समेत प्रस्ताव राखेको स्रोतको भनाइ छ । 

दाहालले देउवाको समेत हवाला दिएर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेकोमा डा. कोइरालाले भने चर्को असन्तुष्टि व्यक्त गरेका छन् । डा. कोइराला निकट मुख्यमन्त्रीका आकांक्षी कार्कीले दुई साता अघि बसेको कांग्रेस संसदीय दलको बैठकमा संसदीय दलका नेता थापालाई पुनः मुख्यमन्त्री बनाउन नहुने र उनले दलको नेताबाट राजीनामा दिएर बाटो खोल्नुपर्ने अडान राखेका थिए । कार्कीले एमालेले समेत आफूलाई समर्थन गर्ने दाबी गर्दै आएको बेलामा गठबन्धनले भने माओवादीलाई मुख्यमन्त्री सुम्पिएको हो ।

बुधबार मात्रै पार्टी सभापति शेर बहादुर देउवासँग भेटेका कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य भीम पराजुलीले कांग्रेसभित्रको समूहगत बेमेलको फाइदा माओवादीलाई हुनसक्ने बताएका थिए । सभापति देउवाको भनाइ उद्धृत गर्दै पराजुलीले कोशी प्रदेशमा मुख्यमन्त्री बन्दा सकेसम्म संसदीय दलको नेतालाई नै बनाउनु पर्ने जवाफ दिएको बताएका थिए । उनले पार्टीभित्रै एकले अर्कोलाई नमान्ने अवस्था बनेका कारण निर्णय बदलिने सम्भावना रहेको संकेत गरेका थिए । पराजुलीले केही नेताहरूले मुख्यमन्त्रीको प्रयास गर्नु वा उचाल्न लागिपरेको समेत आरोप लगाएका थिए ।

प्रदेश सभाको सामान्य बहुमत संख्या ४७ लिएर मात्रै सरकारमा गएर केहि अर्थ नहुने बिषयमा कांग्रेसभित्र पर्याप्त छलफल भएको जानकारी दिँदै उनले राप्रपासँग निर्णायक वार्ता गर्न नेताहरू लागिरहेको बताए । पराजुलीले राप्रपा मान्न तयार नभएको अवस्थामा मात्रै मध्यावधिमा जानु रोक्नका लागि एमालेसँग मिलेर पनि सरकार बनाउनु पर्ने सुझाव सभापति देउवालाई दिएको बताए ।

यता कार्की निकट स्रोतले भने गठबन्धनले जेसुकै निर्णय गरे पनि उक्त निर्णय नमान्ने जनाएको छ । कार्कीसँग न्यूनतम् ९ जना सांसदहरू रहेकोले माओवादीलाई मुख्यमन्त्री दिन नहुने विषयमा १३ जना सांसदहरूले स्पष्ट रुपमा असहमति जनाइसकेका छन् । कार्की निकट रहेका कांग्रेसका केही सांसदहरू माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि बिहीबार नै काठमाडौंबाट विराटनगर आएर छलफलमा जुटेका छन् ।

प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्रीमा एमालेको भने दाबी नरहेको जनाउँदै आएको छ । उपधारा (५) बमोजिमको सरकार गठनका लागि तोकिएको समय सकिनु अगावै दाबी पेस गर्न एमालेले कांग्रेससँग मिलेर जान भने सकिने लचिलो रहेको एमाले कामचलाउ अवस्थाका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बताए ।

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले कांग्रेसले कोशीको संकट समाधानमा चासो नदेखाएको गुनासो समेत गरे । उनले कांग्रेस सभापति देउवा र अर्का नेता डा.कोइरालाले एमाले–कांग्रेसबीचमा मूलभूत रूपमा मिलेर अघि बढ्ने कामको नेतृत्व गर्नुपर्ने धारणा राखे ।

‘अब बन्ने सरकारमा हाम्रो माग दाबी छैन, किनभने राजी भएर उपधारा (३) को सरकारबाट राजीनामा दिएको हो,’ कार्कीले भने, ‘उपधारा (५) ले दलहरूलाई इग्नोर गरेकोले फन्टुसहरूको दिन पनि आउन सक्छ, देउवा र कोइरालालाई आग्रह छ– एमाले कांग्रेसबीचमा मूलभूत रूपमा अघि बढ्ने कामको नेतृत्व होस् ।’

संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्त हुन संसदीय दलको नेता नै हुनु पर्दैन । प्रदेशमा मुख्यमन्त्री नियुक्तिको अन्तिम अवसर दिने उपधारा (५) मा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था गरिएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x