कोशी

प्रदेश प्रमुख खापुङ्गद्वारा मुख्यमन्त्रीमा आङ्बो र कार्कीको दाबेदारी कायम

भोलि विहान ८ देखि दिउँसो २ बजेसम्म सनाखतको समय

बाबुराम भण्डारी |
असोज २६, २०८० शुक्रबार १९:२५ बजे

विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागि शनिबार विहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकेका छन् ।

प्रदेश प्रमुख खापुङले सत्ता गठबन्धन समर्थित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्य केदार कार्कीको दाबीलाई कायम राख्दै सनाखतको समय निर्धारण गरेका हुन् ।


एमालेको ३९ र कांग्रेसका ८ सांसदसहित ४७ जनाको बहुमत संख्या लिएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गरेका कार्की शुक्रबार साढे ४ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

प्रदेश प्रमुख खापुङ्गले शुक्रबार नै मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने माग गर्दै पुगेका कार्की समर्थित सांसदहरूले सनाखतका लागि प्रदेश सभा सचिवालयबाट प्रमाणित परिचय पत्र समेत बोकेर गएका थिए ।

प्रदेश प्रमुखले असोज २० गते उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न शुक्रबार अपरान्ह ५ बजेसम्मको समय तोकेका थिए । तोकिएको समयभित्र आङ्बो र कार्कीको दाबी परेपछि ९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याउने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न उनले सनाखतको समय निर्धारण गरेका हुन् ।

दाबी पेस गरेका कार्की समर्थित सांसदहरू शुक्रबार साँझ साढे ६ बजेसम्म प्रदेश प्रमुखको जवाफ पर्खिएर बसेका थिए ।

प्रदेश प्रमुखले दाबी प्रस्तुत गरेका कार्कीसहित वर्तमान कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र कांग्रेसका प्रदेश सभा सदस्य शम्शेर राईसँगको कुराकानीपछि सनाखतको समय तोकेर सूचना प्रकाशित गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा ‘शनिबार विहान ८ बजदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नु भएका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेश सभा सदस्यको परिचय खुल्ने परिचयपत्र साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ’ भनि उल्लेख छ ।

सनाखतको समयमा ४७ सांसदको समर्थन देखाउने प्रदेश सभा सदस्य नै उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्की दुवैले ४७/४७ जना सदस्यहरूको समर्थन रहेको भनि हस्ताक्षरसहित दाबी पेस गरेको उल्लेख गरेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x