कोशी

कोशीमा सनाखतका लागि प्रदेश प्रमुख कार्यालय पुगे कार्की समूहका सांसदहरू

बाबुराम भण्डारी |
असोज २७, २०८० शनिबार ८:९ बजे

विराटनगर- कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले सांसदहरूको सनाखत गर्ने तयारी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आज (शनिबार) बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकिएकोमा सांसदहरू निर्धारित समय अगावै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।


प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री नियुक्तिमा ढिलाई गर्न खोजे रातैभर धर्ना दिने चेतावनी दिएका केदार कार्की पक्षीय कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद समय तोकेर सनाखतको सूचना आएपछि शुक्रबार साँझ फर्किएका थिए । उनीहरू अहिले बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् । 

प्रदेश प्रमुख खापुङले सत्ता गठबन्धन समर्थित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्य केदार कार्कीको दाबीलाई कायम राख्दै सनाखतको समय निर्धारण तोकिसकेका छन् । 

प्रदेश प्रमुखको कार्यालयले कार्कीको पक्षमा सनाखत गर्ने सांसदहरुका लागि ८ बजेदेखि ११ बजेसम्मको समय छुट्याएको जनाइएको छ । त्यसपछि आङ्बोको पक्षमा सनाखत गर्ने सांसदहरुलाई समय मिलाइएको जनाइएको छ ।

आङ्बोले माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४, जनता समाजवादीको १ सहित नेपाली कांग्रेसका सवै २९ सांसदको समर्थन रहेको पत्र बुझाउँदै दाबी पेश गरेका हुन् । तर कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीको दाबेदार बनेका केदार कार्कीले भने अघिल्लो उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनमा तयार पारिएको पुरानो हस्ताक्षरलाई नै पुनः पेश गरेको भन्दै आपत्ति जनाइसकेका छन् । माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने दाबी पत्रमा कांग्रेस संसदीय दलको सदस्यका रुपमा आफ्नो र आफुलाई समर्थन गर्ने थप ७ जना सांसदको पनि नाम उल्लेख भएकोमा कार्कीले विरोध जनाएका हुन् ।

कार्की शुक्रबार साढे ४ बजे प्रदेश प्रमुखको कार्यालयमा एमालेका ३९ सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिको माग गर्दै पुगेका थिए । उनीहरूले प्रदेश प्रमुखबाट शुक्रबार साँझ नै सनाखत गर्नुपर्ने माग गर्दै प्रदेश सभा सचिवालयबाट प्रमाणित परिचय पत्र समेत बोकेर गएका थिए ।

प्रदेश प्रमुख खापुङ्गले असोज २० गते उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न हिजो (शुक्रबार) अपरान्ह ५ बजेसम्मको समय तोकेका थिए । तोकिएको समयभित्र आङ्बो र कार्कीको दाबी परेपछि ९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याउने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न उनले सनाखतको समय निर्धारण गरेका हुन् ।

सनाखतमा आङ्बो र कार्की मध्ये कोही एकजनाले आफ्नो पक्षमा प्रदेश सभाको न्यमूनतम् बहुमत संख्या ४७ सांसदको सनाखत पुर्‍याउनु पर्नेछ । बहुमत पुर्‍याउनेले नै मुख्यमन्त्रीको नियुक्ति पाउने छन् । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा प्रदेश सभा सदस्यहरू इन्द्र बहादुर आङ्बो र केदार कार्की दुवैले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनि हस्ताक्षरसहित दाबी पेस गरेको उल्लेख गरेको छ ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x