कोशी

प्रदेश प्रमुख खापुङ्गको उपस्थितिमा केदार कार्की पक्षका सांसदको सनाखत सुरू

इकागज |
असोज २७, २०८० शनिबार ९:१० बजे

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा केदार कार्की पक्षका सांसदहरूको सनाखत सुरु भएको छ । 

प्रदेश प्रमुख परशुराम खापुङ्गको उपस्थितिमा सनाखत सुरु भएको हो । नेपाली काङ्ग्रेसबाट विद्रोह गरेर एमालेका ३९ सांसदहरूको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका केदार कार्की पक्षका सांसदहरूले अहिले सनाखत गरिरहेका छन् ।


काङ्ग्रेसका २९ मध्ये शेखर कोइराला समूहका ८ सांसदले कार्कीलाई साथ दिएका छन् । आठै जनाले सनाखतमा पनि हस्ताक्षर गरिसकेका छन् । काङ्ग्रेसका ८ सांसदको सनाखतपछि एमालेका ३९ जनाको सनाखत सुरु भएको छ ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आज (शनिबार) बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकिएको छ । कार्की पक्षका सांसदहरु निर्धारित समय अगावै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

प्रदेश प्रमुख खापुङ्गले असोज २० गते उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न हिजो (शुक्रबार) अपरान्ह ५ बजेसम्मको समय तोकेका थिए । तोकिएको समयभित्र सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बो र काङ्ग्रेसको विद्रोही समुहका केदार कार्कीको दाबी परेपछि ९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याउने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न उनले सनाखतको समय निर्धारण गरेका हुन् ।


Author

थप समाचार
x