कोशी

कोशीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षको दाबी

इकागज |
कात्तिक २, २०८० बिहीबार १५:१७ बजे

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षको दाबी गरेको छ । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्ष दलको नेताले पाउने सुविधाका लागि सभामुख समक्ष बिहीबार दाबी पेस गरेका छन् ।

सिटौलाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम गठन भएको कोशी प्रदेशको सरकारको गठनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी समेतको समर्थन भएको दाबी गरेका छन् । उनले बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा उक्त दलहरुले विश्वासको प्रस्तावको पक्षमा मतदान समेत गरिसकेको र विपक्षमा राप्रपाका प्रदेश सभा सदस्यहरुले मात्र गरेकोले प्रमुख प्रतिपक्षी दलको मान्यतासहित सेवा सुविधा पाउनुपर्ने माग गरेको हो ।


कोशी प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २ को खण्ड (ङ) मा प्रमुख प्रतिपक्ष दलको नेताको व्यवस्थाबारे उल्लेख छ ।

उक्त व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी दलको नेता भन्नाले 'मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेक प्रदेश सभामा बढी सदस्य संख्या भएको दलका सदस्यहरुले आफू मध्येबाट दलको नेताको रुपमा निर्वाचित गरेको सदस्यलाई सम्झनु पर्छ' भनी उल्लेख छ ।

राप्रपा संसदीय दलको नेता भक्ति प्रसाद सिटौलाले ऎनको सोही व्यवस्था अनुसार कोशी प्रदेश सभाको प्रमुख प्रतिपक्ष दलको नेता भएको हुँदा उक्त ऐन बमोजिम प्रमुख प्रतिपक्ष दलको नेताले पाउने सुविधा उपलब्ध गराईदिन माग गरेको बताए । सोही ऎनको अनुसूची १ मा सुविधाको विषय उल्लेख छ । 

जस अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले मासिक पारिश्रमिक ५९ हजार, एक थान गाडी र त्यसका लागि इन्धन १२५ लिटर तथा मोबिल ५ लिटर, मासिक रुपमा बिजुली धारा महसुल, संचारमा मासिक ३ हजार लगायत सुविधा पाउने जनाएको छ ।


Author

थप समाचार
x